• १३ असोज २०८१, आइतबार

डा. अनिलद्वारा ‘विश्व रेकर्ड’

blog

काठमाडौँ, कात्तिक २५ गते । वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा. ओममूर्ति अनिलले ‘विश्व रेकर्ड’ राख्नुभएको छ । उहाँले फेसबुक लाइभमा ‘कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ भन्ने शीर्षकमा आफूले गिनिज वल्र्ड रेकर्ड बनाएको जानकारी दिनुभयो । 

डा. अनिलले विश्व मुटु दिवसका अवसर गत असोज १२ गते मुटुरोगसम्बन्धी जनचेतनामूलक सन्देश फेसबुक लाइभ प्रस्तुतिबाट विश्व रेकर्ड बनाउनुभएको हो । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुतिबाट विश्व रेकर्ड कायम गरेको जानकारी दिनुभयो । डा. अनिलका अनुसार असोज १२ गते साझ ७ः१५ बजेदेखि सुरु भएको आधा घण्टा लामो उक्त प्रस्तुतिमा ११ हजार २१२ जना एकै पटक लाइभमा जोडिएका थिए । उहाँलाई विश्व रेकर्ड बनाउनका लागि पाँच हजार व्यक्ति एकै पटक फेसबुक लाइभमा जोडिएको भए पुग्ने थियो । उहाँले पाँच हजार जना भए पुग्नेमा ११ हजारभन्दा बढीले फेसबुक लाइभमा जोडिएको बताउनुभयो । फेसबुक लाइभलाई नौ हजार जनाले सेयर गरेका थिए । गिनिज बुकको नियम पालना गरेर आफूले विश्व रेकर्ड कायम गर्न सफल भएको उहाँको भनाइ थियो । 

डा. अनिलले लाइभ प्रस्तुतिपछि ‘गिनिज वल्र्ड रेकर्ड’ का सम्पूर्ण मापदण्ड पूरा गरी विश्व रेकर्ड कायम भएको दाबी पेस गर्नुभएको थियो । गिनिज वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गर्न केही समय लागेको बताउँदै उहाँले व्यक्तिगत क्षमता, सिप र पहिचानभन्दा भिन्न उद्देश्य बोकेको वल्र्ड रेकर्ड संसारभरका मानिसका लागि प्रेरणा हुने जनाउनुभयो । डा. अनिलका अनुसार सो रेकर्ड अन्तर्राष्ट्रियस्तरमा स्वास्थ्य सचेतनाका लागि सामाजिक सञ्जालको भूमिका र उचित प्रयोगका बारेमा उदाहरणीय हुने विश्वास व्यक्त गर्नुभयो ।