• ७ जेठ २०८१, सोमबार

मृतक परिवारलाई राहत वितरण

blog

मृतक परिवारका सदस्यलाई राहत रकम उपलब्ध गराउनुहुँदै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, कात्तिक २४ गते । भूकम्पको कारण मृत्यु भएका परिवारलाई जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले राहत रकम वितरण गर्न थालेको छ । प्रशासनले मृतकको घरमै गएर मृतकका परिवारलाई दुई लाख रुपियाँको दरले राहत दिन थालेको हो । 

शुक्रबारदेखि मृतकका नजिकका कानूनी हकवालालाई राहत रकम वितरण गर्न सुरु गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार विपद् पीडित उद्धार राहतसम्बन्धि मापदण्ड, २०७७ अनुसार जनही दुई लाख रुपियाँको दरले राहत वितरण गरिएको छ । 

एकाघरका एकभन्दा बढीको मृत्यु भएको हकमा भने एक जनालाई दुई लाख र अन्य मृतकलाई संख्याको आधारमा एक–एक लाख गरेर उपलब्ध गराइएको छ । पहिलो दिन १६ जना मृतकका नौ परिवारलाई २५ लाख रुपियाँ राहत उपलब्ध गराइएको छ । सानीभेरी गाउँपालिका भित्रका १० जना मृतक र आठविसकोट नगरपालिकाका १४ छेपारे गाउँका ६ जना मृतकका आफन्तजनलाई राहत वितरण गरिएको प्रजिअ पन्तले बताउनुभयो । पहिलो दिन २५ लाख रुपियाँ राहत रकम बाँडिएको छ । 

सरकारले गरेको निर्णयका आधारमा उक्त राहत उपलब्ध गराइएको हो । परिवारका सदस्य तथा घरवास समेत गुमाएको अवस्थामा मृतकका परिवारलाई सहज बनाउन घरमै गएर राहत दिइएको प्रमुख जिल्ला अधिकारी पन्तले उल्लेख गर्नुभयो । जनप्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखसहितको टोलीले मृतक परिवालाई राहत उपलब्ध गराएको हो । 

भोलि नै अन्य मृतकका परिवारलाई राहत उपलब्ध गराइसक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर रुकुमपश्चिममा ५२ जनामो मृत्यु भएको थियो भने शुक्रबार उपचारको क्रममा थप एक जनाको मृत्यु भएको छ । 

चौरजहारी नगरपालिकामा कार्यरत नगर प्रहरी जवान निरोज बिष्टको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । यससँगै भूकम्पको कारण रुकुमपश्चिममा मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।