• १३ असोज २०८१, आइतबार

ठाइकोर सिक्दै नयाँ पुस्ता

blog

हुम्ला समाचारदाता

हुम्ला, कात्तिक २४ गते । नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीमा परम्परागत पहिरन र गरगहना लगाएर नाचिने ठाइकोर नाच पुराना पुस्ताबाट नयाँ पुस्ताकी युवतीले सिक्न थालेका छन् । उक्त नाच लोप हुने अवस्थामा पुगेपछि पुराना पुस्ताका महिलाले नयाँ पुस्ताकी युवतीलाई सिकाउन थालेका हुन् ।  

लिमीका वडाध्यक्ष पाल्जोर तामाङ पुराना पुस्तामा मात्र सीमित हुन थालेको महिलाले परम्परागत पहिरन र गहनाले सजिएर नाच्ने र गाउने ठाइकोर नाच नयाँ पुस्ताका युवतीले सिक्न थालेकोमा खुसी व्यक्त गर्नुभयो । यस नाचमा महिलाले शिरमा डेढ लाख रुपियाँ पर्ने बहुमूल्य धातुको  ठाइकोर र त्यति नै मूल्यका परम्परागत पोसाक लगाउने गर्छन् । 

नयाँ पुस्ताले आधुनिक गरगहना र पोसाक मात्र लगाई आधुनिक संस्कृति अँगाल्न थालेका बेला पुराना पुस्ताका महिलाले अनिवार्य सिक्नैपर्ने नियम गाउँमा लगाएपछि युवतीहरू पनि यो पहिरनमा नाच्न सिक्न थालेको अध्यक्ष तामाङको भनाइ छ । बौद्धधर्मावलम्बीहरूका महिलाले नाच्ने यो नाच चाडपर्वमा नाचिन्छ । लिमीको प्रसिद्ध यस नाचका लागि गरगहना र पोसाक प्रत्येक घर हुने गर्छ ।