• ८ मंसिर २०८१, शनिबार

गुरुङ चलचित्र ‘सैंर्वे ट’ प्रिमियरको तयारीमा

blog

सन्तोष सुवेदी
कास्की, कात्तिक २३ गते ।
 पोखरामा आगामी मङ्सिर ९ गते गुरुङ समुदायमा आधारित तमु चलचित्र ‘सैंर्वे ट’ (मनको फूल) को विशेष प्रदर्शन (प्रिमियर सो) हुने भएको छ ।

माओत्से गुरुङ फिल्मससँगको सहकार्यमा उचाइ स्टुडियो प्रालिको ब्यानरमा निर्मित चलचित्रको ट्रेडमलस्थित सिनेप्लेक्समा बिहान १० बजे विशेष प्रदर्शन हुने निर्माण टिमले जनाएको छ । रत्ना गुरुङद्वारा लिखित तथा निर्देशित सो चलचित्रको च्यारिटी शुल्क एक हजार रुपियाँ निर्धारण गरिएको छ ।

चलचित्रमा नायकको भूमिकामा विश्वात्मा गुरुङलाई देख्न सकिन्छ भने नायिकाकी रूपमा कृष्टि गुरुङले अभिनय गर्नुभएको छ । यस्तै, चलचित्रमा गजेन्द्र गुरुङ, सूर्य सुनुवार, डिबी गुरुङ, लालशोभा गुरुङ, प्रकृति गुरुङ, राममाया गुरुङ लगायत कलाकारको भूमिका रहेको छ ।

निर्देशक गुरुङका अनुसार गुरुङ समुदायको संस्कार, संस्कृति र परिवेशमा आधारित चलचित्रमा प्रेमको विषयलाई केन्द्रमा राखेर फिल्म निर्माण गरिएको छ । पारिवारिक एवम् प्रेमकथामा आधारित उक्त चलचित्रको छायाङ्कन स्याङ्जाको कोल्मा, पोखरीछाप तथा पोखराका विभिन्न स्थानमा गरिएको निर्देशक रत्ना गुरुङले जानकारी दिनुभयो । उहाँले चलचित्रमा प्राविधिक पक्षमा नयाँपनको अभ्यास गरिएको बताउँदै चलचित्र विशेष बनेको बताउनुभयो ।

चलचित्रको निर्माता समेत रहनुभएको गुरुङले यसअघि लघु चलचित्र म्हैता (पाइला) को पनि निर्देशन गर्नुभएको थियो । चलचित्र सैंर्वे ट (मनको फूल) को सम्पादन दीपेश गुरुङ र छायाङ्कन सन्देश गुरुङले गर्नुभएको हो ।