• २८ पुस २०८१, आइतबार

नेपालको विकासमा भारतीय सहयोग महत्त्वपूर्ण : अर्थमन्त्री डा. महत

blog

त्रिवि शिक्षण अस्पतालको मङ्गलादेबी बर्थिङ सेन्टरको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा. प्रकाशशरण महत ।

काठमाडौं, कात्तिक २१ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको विकासमा भारतीय सहयोग महत्त्वपूर्ण रहेको बताउनुभएको छ । मङ्गलबार मन्त्री डा. महतले त्रिवि शिक्षण अस्पतालको मङ्गलादेबी बर्थिङ सेन्टरको उद्घाटन गर्नुहुँदै भन्नुभयो, ‘‘मङ्गलादेबीको नाममा बर्थिङ सेन्टर स्थापना हुनु खुसीको कुरा हो । नेपाल–भारत सहयोगअन्तर्गत स्मल ग्रान्ट परियोजनाअन्तर्गत २० वर्षदेखि लगातार भारत सरकारले नेपालको महत्त्वपूर्ण क्षेत्रमा सहयोग गर्दै आएको छ ।’’

मन्त्री डा. महतले भन्नुभयो, ‘‘साना परियोजनाको प्रवाह बढी छ, कार्यान्वयन अवधि छोटो छ । सिधै स्थानीय तहका जनताले प्रत्यक्ष लाभ यसबाट प्राप्त गर्दछन् । भारतीय सरकार, भारतीय दूतावास काठमाडौँ र महामहिम राजदूत धन्यवादका पात्र हुनुहुन्छ ।’’

‘‘म धेरै अप्ठ्यारो समयमा अर्थमन्त्री बनेको हुँ, कोभिडको प्रभावले आर्थिक गतिविधिमा शिथिलता आएको थियो । मानिसहरूमा निराशा थियो । तर अहिले बिस्तारै गति लिँदैछ ।,’’मन्त्री डा. महतले भन्नुभयो, ‘‘सामाजिक सञ्जालको पनि जमाना छ । नकारात्मक कुरा छिट्टै लोकप्रिय हुन्छ, यसले आम मानिसमा हो कि भन्ने भ्रम पारदिन्छ ।’’


मन्त्री डा. महतले भन्नुभयो, ‘‘अनुत्पादक क्षेत्रमा लगानी, कोभिडका बेला अत्यधिक पुँजी प्रवाह भयो, प्रतिफल आएन । घरजग्गा व्यवसायमा पनि एकदमै पुँजी प्रवाह भयो, त्यसले पनि केही समस्या पर्‍यो । सामाजिक सञ्जालमा पोस्ट भएको सामाग्रीले पनि आम मानिसमा आत्मविश्वास कम भएको छ ।’’

‘‘अहिले रेमिटेन्स वृद्धि भइरहेको छ । पर्यटन व्यवसायमा उत्साह छाएको छ । यसले अर्थतन्त्रको गतिलाई वृद्धि गर्छ । त्यसकारण निराश हुनुपर्ने अवस्था छैन । अब आत्मविश्वास जगाउनुपर्ने आवश्यकता छ । यसका लागि नागरिक समाज, सरकार, निजी क्षेत्र र सबैले खर्च गर्न डराउनुपर्दैन ।,’’ मन्त्री डा. महतले भन्नुभयो, ‘‘भोलिका दिनलाई सम्झेर मानिसहरू खर्च गर्न डराएको स्थिति थियो, अहिले त्यस्तो छैन । प्रतिफल आउँदैन कि भनेर लगानीकर्ताहरू डराएको स्थिति थियो । आम मानिसमा आत्मविश्वास नभएपछि रोजगारीमा असर पर्‍यो, आयमा असर पर्ने भयो, त्यस्तै राजश्वमा असर पर्ने भयो ।’’


‘पुनर्निर्माणको ऋण तिर्ने बेला भएको छ, कर्मचारीको तलबभत्तासँग सँगै सामाजिक सुरक्षाभत्तामा हामी ठुलो रकम खर्च गर्छौ । यो तीनवटा शीर्षकमा छुटाइएको रकमले गर्दा पुँजीगत खर्च कम विनियोजन गर्नुपरेको छ । जसले गर्दा हामीले धेरै खर्च गर्न सकेका छैनौँ’ मन्त्री डा. महतले भन्नुभयो ।

‘‘सीमित समयका लागि हामी अप्ठ्यारोमा परेका थियौँ, तर भविष्य उज्यालो छ । विश्व बैङ्क, एडिबीसँग हामीले जलवायु परिवर्तनको सन्दर्भमा न्यून ब्याजमा ऋण र अनुदानका विषयमा छलफल भएको छ । किनभने जलवायु परिवर्तन हाम्रा कारणले भएको होइन, त्यसकारण त्यसबाट आउने सहयोग नेपालले डिर्जभ गर्छ । यो माग्नेभन्दा पनि हाम्रो अधिकार हो भन्ने कुरामा हामीले जोड दिएका छौँ’’ मन्त्री डा. महतले भन्नुभयो, ‘‘सरकारी खर्चमा हामीले अनुशासन कायम गर्न खोजेका छौँ । त्यसैले हाम्रो भविष्य उज्ज्वल छ ।’’