• १३ साउन २०८१, आइतबार

विपत्तिका बेला कोही छैन भनेर नआत्तिनुहोला : राष्ट्रपति पौडेल

blog

भूकम्प प्रभावितहरूको अवस्था बुझ्न जाजरकोटमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेल स्थानीयहरूसँग परामर्श गर्नुहुँदै । तस्बिर : राष्ट्रपतिको सचिवालय

गोरखापत्र अनलाइन

जाजरकोट, कात्तिक २१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले विपत्तिको बेला कोही छैन भनेर नआत्तिन र हामीलाई मद्दत गर्ने सरकार छ भनेर सोच्न आग्रह गर्नुभएको छ । भूकम्प प्रभावितहरूको अवस्था बुझ्न आज भूकम्प गएको केन्द्रबिन्दु जाजरकोटको बाराकोटेको रामीडाँडा पुग्नुभएका राष्ट्रपति पौडेलले त्यहाँ भूकम्पपीडित, जनप्रतिनिधि र स्थानीयहरूसँगको छलफलमा सो आग्रह गर्नुभएको हो । 

उहाँले भन्नुभयो, “अहिलेको अवस्थामा कोही छैन भनेर नठान्नु होला, हाम्रो सरकार छ भन्ने सोच्नु होला ।”  उहाँले हामी सबै मिलेर विपत्तिको सामना गर्न आग्रह गर्दै भन्नुभयो, “सबै मिलेर यो विपत्तिको सामना गरौँ । सरकार जहिले तपाईँहरूको साथमा रहन्छ ।” 


विपतको समयमा  युद्धस्तरमा काम गर्नुपर्ने उल्लेख गर्दै यो बेलामा एकै पटक १० वटा  कुरा सोच्ने र सोचेभन्दा बढी ११ वटा काम गर्नुपर्ने अवस्था हो उहाँले भन्नुभयो । जनप्रतिनिधिलाई भूकम्पको क्षति तथा अवस्थाबारे सही तथ्याङ्क राख्न र पीडितहरू नठगिउन् भन्नेतर्फ सचेत हुन पनि उहाँले सुझाव दिनुभयो । राष्ट्रपति पौडेलले  भन्नुभयो, “दुई तीनवटा घर हुनेले राहत पाउने तर केही नहुनेले पाउँदै नपाउने अवस्था नआओस् ।” 

राष्ट्रपति पौडेलले अहिले राजा महाराजको जमाना हैन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको समय हो, जनतालाई दुःख पर्दा सरकार जनतासँगै हुनुपर्छ र सरकार भूकम्प प्रभावितको आवश्यक प्रबन्ध गर्न सदैव प्रयत्नशील बन्नुपर्छ उहाँले भन्नुभयो । राष्ट्रपति पौडेलले आफू विगतमा झाडापखाला महामारी हुँदा यस क्षेत्रका जनतासँगै रहेको प्रसङ्ग उल्लेख गर्दै विनाशकारी भूकम्पको यस प्राकृतिक विपत्तिमा दुःख परेको बेलामा पनि तपाईँहरूसँगै छु, भन्नुभयो । “यो दुर्भाग्यपूर्ण र प्राकृतिक विपत्तिको दुःखद घटना हो, तपाईँहरूको दुःखमा साथै रहन र राहत र उद्धारमा भइरहेका कामहरूको अवस्था बुझ्न साथै यहाँको अल्पकालीन र दीर्घकालीन पुनर्स्थापनाको प्रबन्धलाई प्रभावकारी बनाउनपर्छ भनेर पनि  म यहाँ आएको हु” उहाँले भन्नुभयो ।  

उहाँले तत्काल बसोबासका लागि पाल, स्थायी घर नबन्दासम्मका लागि जाडो र वर्षायाममा समस्या नहुने गरी बसोबासको अस्थायी प्रबन्ध तथा दीर्घकालीन रूपमा कुनै उपयुक्त ठाउँको पहिचान गरी स्थायी घर निर्माण गर्नुपर्नेमा अहिले नै सोचेर काम थाल्न आग्रह गर्नुभयो ।

सो अवसरमा बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले ४३ सय घरधुरीमध्ये २४० पूर्णरुपमा ध्वस्त भएको, १ हजार ८ सय ९१ उच्च जोखिममा रहेको र १ हजार परिवार विस्थापित भएको जानकारी गराउनुभयो । सुरक्षित आवास र दैनिक जीवनयापन सहज बनाउन ठुलो चुनौती रहेको अध्यक्ष गिरीले बताउनुभयो ।  


भूकम्प प्रभावितहरूको अवस्था बुझन् मंगलबार बिहान जाजरकोट सदरमुकाम खलङ्गा पुग्नुभएका राष्ट्रपति पौडेलले त्यहाँ जिल्ला अस्पतालमा उपचाररत घाइतेलाई भेट्नुभएको थियो भने भूकम्पपीडित, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसँग छलफल गर्नुभएको थियो । साथै भूकम्पले क्षतिग्रस्त घरको पनि अवलोकन गर्नुभयो ।  

त्यसपछि उहाँ यस पटकको भूकम्पको केन्द्रबिन्दु बनेको जाजरकोटको रामीडाँडा क्षेत्र पुग्नुभएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । भूकम्पपछिको अवस्था अनुकूल नभएको भन्दै राष्ट्रपति पौडेलले २२ कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण सोमबार स्थगित गर्नुभएको थियो । राष्ट्रपति पौडेलका साथमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उर्जामन्त्री शक्ति बस्नेत, जाजरकोटका प्रदेश सांसद, प्रधानसेनापति सहभागी हुनुहुन्छ ।