• १० पुस २०८१, बुधबार

संसद् भवनको निर्माण कार्य छिटो सम्पन्न गर्न निर्देशन

blog

प्रतिनिधि सभाका अध्यक्ष देवराज घिमिरे कार्यक्रममा निर्देशन दिनुहुँदै । तस्बिर : सभामुखको सचिवालय

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक २१ गते । सभामुख देवराज घिमिरेले निर्माणाधीन सङ्घीय संसद्को भवन दुई महिनाभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको छ । मंगलबार सहरी विकास मन्त्रालयले संसद भवनभित्र प्रयोग गरिने प्रविधिहरूको सम्बन्धमा जानकारी दिन आयोजना गरेको कार्यक्रममा उहाँले सो निर्देशन दिनुभएको हो । 

आफ्नो चासो संसद्को आगामी अधिवेशन नयाँ संसद् भवनबाट चलाउने रहेको उल्लेख गर्दै उहाँले प्रतिनिधि सभा र राष्ट्रिय सभाका मुख्य बैठक कक्षमा आवश्यक प्रविधिहरू दुई महिनाभित्र जडान गरिसक्न आग्रह गर्नुभयो । सभामुख घिमिरेले सबै भवनको निर्माण सम्पन्न नभए पनि बैठक बस्ने दुईवटा बैठक कक्षको प्राविधिक रूपमा सबै काम सक्नेगरी तयारी गर्न अनुरोध गर्नुभयो । त्यसैगरी उहाँले संसद् भवनमा जडान गरिने प्रविधिहरूको बारेमा प्राविधिकले जडान गर्दादेखि नै ज्ञान लिनुपर्ने बताउनुभयो । उहाँले भविष्यमा आइपर्न सक्ने प्राविधिक समस्याको बारेमा प्राविधिकहरूले अहिलेदेखि नै ज्ञान हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘प्राविधिक पक्षमा के–के प्रविधिहरू आएका छन्, के प्रविधि हाम्रो लागि प्रयोग हुन्छ, हामीसँग भएको प्रविधि र तपाईँहरूसँग भएको प्रविधिको विषयमा छलफल गर्ने र हाम्रा आवश्यकताहरू त्यो इडिभाइसमा कसरी राख्न सकिन्छ ? आदिजस्ता विषयमा घनिभूत ढङ्गले छलफल गरेर निष्कर्षमा पुगाउनुपर्छ । प्रयोग गर्ने हामीले हो ।’ 

हाम्रा प्राविधिकहरूले अहिले भइरहेको चिजहरू कहाँ–कहाँ के–के छ भन्ने आवश्यक अध्ययन गरेर फाइनल गर्नुपर्ने उहाँले बताउनुभयो । सामग्रीहरूको खरिद, व्यवस्थापन तथा सञ्चालनदेखि लिएर हरेक कुरामा आउने अप्ठ्याराबारेमा, सिटहरू प्लानिङ गर्नेमा समेत अहिले देखि नै हाम्रो टिमले हेर्ने प्रबन्ध गर्नुपर्छ उहाँले भन्नुभयो, “मेरो कन्सर्न के हो भने हामीले कम्तीमा सबै भवनहरू नसके पनि मुख्य भवनलाई सकेर राष्ट्रिय सभा र प्रतिनिधि सभाका मेन हलमा इक्वुइपमेन्ट, डिभाइसहरू फिट गरेर कामहरू गर्ने भनेको दुई महिनाभित्र गर्न सकिन्छ कि सकिँदैन ?” अब हामी दुई महिनापछि हिउँदेसत्र त्यहाँ चलाउन चाहन्छौँ ।” 

सहरी विकासमन्त्री सीता गुरुङले सङ्घीय संसद् भवनमा नयाँ प्रविधि जडान गरिने बताउनुभयो । उहाँले भोलिको विश्वसँग तुलना गरेर नयाँ प्रविधिलाई प्राथमिकता दिएर जडान गरिने बताउनुभयो । उहाँले बजेटको सीमिततालाई ख्याल गर्दै सकेसम्म राम्रा प्रविधिहरूको प्रयोग गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नयाँ प्रविधिको विकास भएको छ । तत्कालको लागि जेनतेन जे हुन्छ, गरौँ भन्दा पनि लङटर्म भोलिको लागि विश्वसँग तुलना गरेर जानसक्ने प्रविधिहरूलाई सकेसम्म प्राथमिकतामा राखेर जाऔँ । राम्रो गरौँ भन्ने हिसाबले हामी छलफल गरिरहेका छौँ ।’ 


विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना प्रमुख मचाकाजी महर्जनले सङ्घीय संसद् भवन निर्माणको काममा ७५ प्रतिशत प्रगति भएको बताउनुभयो । उहाँले १२ वटा भवनमध्ये ७ वटा भवनको छानासम्मको काम सम्पन्न भइसकेको जानकारी दिनुभयो । बाँकी ४ वटा भवनमा ट्रस्ट निर्माणलगायत छानाको काम अघि बढिरहेको बताउनुभयो ।

त्यसैगरी पर्खाल निर्माणको ९५ प्रतिशत काम सम्पन्न भएको उहाँको भनाइ छ ।

उहाँले अब भवनभित्रको इन्टेरियरको काम सुरु हुने बताउनुभयो । उहाँले भवन निर्माण भइरहेका कारण एसीको काम ११ प्रतिशत मात्रै भएको जानकारी दिनुभयो । आयोजना प्रमुख महर्जनले फर्निचरका लागि नमुना तयार भइरहेको बताउनुभयो ।