• १३ साउन २०८१, आइतबार

तिहार नजिकिएसँगै किसान धान काट्नमा व्यस्त

blog

धान काट्दै सिरिजङ्घा गाउँपालिका –३ सिकैँचाका किसान । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, कात्तिक २१ गते । दसैँ मनाएलगत्तै तिहार नजिकिन थालेपछि ताप्लेजुङका किसान धान काट्नमा व्यस्त भएका छन् । गत असार र साउन महिनामा लगाएको धानबाली थन्क्याउने बेला भएसँगै किसानहरू धान काट्न व्यस्त भएका हुन् । 

दसैँ पर्व मनाएपछि जिल्लाका अधिकांश क्षेत्रका किसानहरू पाकेको धान काट्न र थन्क्याउनमा व्यस्त बनेका हुन् । धान खेती लगाएका गाउँका किसान यतिबेला आ–आफ्नो खेत तथा बेँसीमा धान काट्न धाउन थालेका छन् । दसैँअघि नै धान पाक्न थालेको र दसैँ मनाएलगत्तै काट्न तथा थन्क्याउन थलेको सिरिजङ्घा गाउँपालिका –३ सिकैँचाका स्थानीय नेत्र बोखिमले बताउनुभयो । 

उहाँकाअनुसार हिजोआज गाउँका सबै किसानहरू धानबाली काट्न र थन्क्याउनमा खेतमै व्यस्त रहेका छन् । पाकेको धान काट्नलाई ढिलाइ गरे खेतमै झर्ने र चामल खान (उपभोग गर्न) योग्य नहुने हुँदा किसानलाई धान काट्ने चटारो हुनेगरेको उनीहरूको भनाइ छ । पाकेको धान समयमा नै काटेर नथन्क्याएमा बाला भाँचिएर दाना खेतमै झरेर नास हुने किसान बताउँछन् ।

सिदिङ्वा गाउँपालिका–४ साब्लाखुका किसान दलबहादुर लिम्बूले दसैँ चाडमा अलमल भएका कारण अहिले धान थन्क्याउने चटारो भएको बताउनुभयो । उहाँकाअनुसार दसैँ मनाइ नसक्दैदेखि गाउँका किसान धान काट्न र थन्क्याउनमा व्यस्त बनेका छन् । यस्तै फक्ताङ्लुङ गाउँपालिका –२ खेजेनिमका स्थानीय दिलकुमार लिम्बूले पनि गाउँका किसान यतिबेला नगदेबाली अलैँचीसँगै धानबाली थन्क्याउनमा व्यस्त रहेको बताउनुभयो । 

उहाँले सबैतिर धान थन्क्याउने चटारोका कारण धान काट्ने जनशक्ति समेतको अभाव हुँदैआएको बताउनुभयो । नौ स्थानीय तह र ६१ वटा वडा रहेको जिल्लामा अधिकांश क्षेत्रमा धान खेती हुनेगरेको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार जिल्लाको कुल आठ हजार ७३७ हेक्टर बढी क्षेत्रफलमा धान खेती गर्ने गरिएको छ ।