• १३ साउन २०८१, आइतबार

घाउखटिराका समस्या धेरै

चितवनमा हात्तीको स्वास्थ्य शिविर

blog

शालिग्राम नेपाल 

सौराहा (चितवन), कात्तिक २१ गते । चितवनमा ११५ वटा हात्तीका लागि एकहप्ते स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सोमबारदेखि सौराहाको खोरसोरमा सञ्चालित शिविरमा ६० वटा सरकारी हात्तीको उपचार सुरु गरिएको छ । त्यसपछि निजी क्षेत्रका अन्य हात्तीको उपचार हुने चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जानकारी दिएको छ । 

हात्तीको स्वास्थ्यमा आउने विभिन्न समस्या र खोप दिन स्वास्थ्य शिविर सञ्चालन गरिएको निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजय श्रेष्ठले जानकारी दिनुभयो । शिविरमा घाउखटिराको उपचार र टिटानस, रेबिजविरुद्धको खोप दिने कार्यव्रmम रहेको छ । “हात्तीको शरीर ठुलो भएकाले घाउ र अन्य स्वास्थ्य समस्या तत्काल नदेखिन सक्छ । शिविर सञ्चालन गरेर स्वास्थ्य परीक्षण गरेपछि उपचार गर्न सजिलो हुन्छ,” उहाँले भन्नुभयो । चितवनमा निकुञ्ज र निजी क्षेत्रका गरी ११५ वटा हात्तीको एक हप्ताभित्र उपचार गरिने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले जानकारी दिनुभयो । 

हात्तीको खुट्टाको नङ काटिदिने, घाउखटिरा हेरेर उपचार गर्ने, स्वास्थ्य अवस्था के कस्तो छ परीक्षण गर्ने, बिरामी भए अलग्गै राखेर उपचार गर्ने, सरुवा रोग भए त्यसको रोकथाम गर्ने जस्ता काम शिविरमा हुने पशु चिकित्सक श्रेष्ठले बताउनुभयो । 

समयमै उपचार नहुँदा समस्या 

चितवनका हात्तीमा घाउखटिरा प्रमुख स्वास्थ्य समस्याका रूपमा देखिएको छ । पर्यटक घुमाउन प्रयोग हुने र सुरक्षाका लागि खटिने हात्ती दुवैमा घाउखटिराको समस्या देखिन थालेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ । 

जङ्गलमा हिँड्नुपर्ने भएकाले त्यहाँ भएका तिखा काँडा, घोचालगायतले खुट्टामा घाउ बनाउने, शरीरमा चोट लाग्ने समस्या छ । घाउचोटको समस्या समयमा नै नदेख्दा ठुलो रूप लिने भएकाले जटिल समस्या भएको पशु चिकित्सक श्रेष्ठले बताउनुभयो । घाउखटिरालाई पहिचान गरेर उपचारको काम भए पनि पुनः जङ्गलमा जानुपर्ने भएकाले यो समस्या दोहोरिने बताउनुभयो । यसका लागि हामीले सुरक्षाका उपाय अपनाउँदै आएका छौँ ।

चार हजार किलोको शरीर भएकाले भार धेरै हुन्छ । हात्तीको शरीरमा लागेको घाउ निको हुन धेरै समय लाग्छ । चिकित्सक श्रेष्ठले भन्नुभयो, “हामीले यसका लागि उपचार गर्दै आएका छौँ तर पनि नियमित जङ्गल जानुपर्ने भएकाले समस्या निर्मूल पार्न कठिन हुने गरेको छ । चरनका लागि जङ्गल जाने भएकाले माटो खाने समस्या अर्को छ । माटो खाने गर्नाले अन्य खाना पच्न कठिन हुने गर्छ । पाचन प्रणालीमा समस्या आउन थालेपछि अन्य समस्या देखिन्छ ।” शिविरमा यसको पहिचान गरेर सबै हात्तीको उपचार हुने उहाँले बताउनुभयो । 

हात्तीको बासस्थान मासिँदै  

ठुलो क्षेत्र बासस्थान आवश्यक पर्ने भएकाले जङ्गल मासिँदै जानु पनि हात्तीका लागि चुनौती रहेको विज्ञहरूले बताउने गरेका छन् । एक मात्र हात्ती प्रजनन केन्द्र रहेको चितवनमा सरकारी हात्ती ६० वटा छन् । यसबाहेक निजी हात्ती ३० वटा छन् । 

सरकारी हात्ती निकुञ्जभित्र जङ्गलमा जाने गरे पनि निजी भने मध्यवर्ती क्षेत्रमा जाने गर्छन् । ठुलो शरीर भएकाले आहारा धेरै आवश्यक पर्छ । ती आहाराका लागि जङ्गल धेरै हुनु पर्छ । अहिले मानवको चाप वृद्धि, विकासको पूर्वाधार बढ्नेलगायतका कारण जङ्गल विनाश हँुदै जाँदा हात्तीको चरन क्षेत्र अतिव्रmमणमा परेको चिकित्सक श्रेष्ठले बताउनुभयो । 

हात्ती, बाघ, जरायोलगायतका जनावरका लागि चितवन निकुञ्ज उपयुक्त भए पनि मानवका चाप जङ्गलमाथि पर्नाले जनावरको बासस्थानमाथि हरेक वर्ष चुनौती थपिँदै गएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो । मानव र वन्यजन्तुबिचको द्वन्द्वलाई कमी गर्दै लैजानुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।