• १३ साउन २०८१, आइतबार

९० वर्षको उमेरमा धनीपुर्जाको निस्सा पाएपछि भक्कानिनु भयो अनन्तमाया

blog

विष्णुप्रसाद पोखरेल

दमक, कार्तिक १९ गते । झापाको दमकबाट नजिकै रहेको इलामको माङसेबुङ गाउँपालिकाको वडा नं. ४ की ९० वर्षीया अनन्तमाया देवान ३ घण्टा लगातर हिँडेर धनी पुर्जाको निस्सा पाइन्छ भनेको थाहा पाएर वार्ड कार्यालयसम्म आउनु भयो । जब निस्सा पाउनु भयो उहाँ एक छिन भक्कानिनुभयो ।

पाँच दशक अघिदेखि बसोबास रहे पनि जग्गाको धनी पुर्जा नपाउनु भएकी उहाँले अब भने जग्गाको धनी पुर्जा पाइन्छ भन्ने आस लागेको छ । जब गाउँपालिका अध्यक्ष हेमन्त राईले जग्गाको धनी पुर्जाका लागि निवेदन दर्ता तथा नाप नक्सा (लगत प्रविष्टि) को निस्सा देवानलाई उपलब्ध गराएपछि एक छिन सबैमा सन्नाटा छायो । थरथर काम्दै लट्ठी टेकेर मञ्चसम्म पुग्नु भएकी देवानका आँखाबाट बरर आँसु झर्‍यो ।

श्रीमान् धनी पुर्जा नपाई बित्नु भयो म पनि बित्छु जस्तो लागेको थियो, उहाँले भन्नुभयो । अब त धनी पुर्जा पाइन्छ भन्ने विश्वास लागेको उहाँको भनाई थियो । बिहान ६ बजे हिँडेर वार्ड कार्यालयमा आफू ९ बजे आइपुगेको उहाँको भनाई छ । ४० वर्षअघि देखि उहाँले २५ रोपनी जग्गा भोग चलन गर्दै आउनु भएको छ ।

शनिवार वार्ड कार्यालयमा कार्यक्रम गरेर ४ सय १३ जनालाई निस्सा वितरण गरिएको गाउँपालिकाका प्रवक्ता शुसन राईले बताउनु भयो । उहाँका अनुसार यसरी निस्सा पाउनेमा ७ जना भूमिहीन दलित, २ सय ५९ अव्यवस्थित बसोबासी र १ सय ४७ जना भूमिहीन सुकुम्वासी रहेका छन् ।

७५ प्रतिशतभन्दा बढिसँग छैन धनी पुर्जा

तराईको झापास्थित दमक नगरपालिका र पूर्वपश्चिम राजमार्गबाट नजिक भए पनि यो विकट वार्डमा पर्ने गाउँपालिका अध्यक्ष हेमन्त राईले बताउनु भयो । ४ सय ५७ घरधुरी रहेको यहाँ ३९ जना घरपरिवारसँगमात्र धनी पुर्जा रहेको राईको भनाई छ । गाउँपालिकामा धनी पुर्जा विहीन धेरैको बसो बासी रहेको वार्ड यही हो, उहाँले भन्नुभयो । 

अब कोही पनि नागरिक धनी पुर्जा विहीन नहोस् भन्ने मनामयले काम गरेका छौ, उहाँले जनाउनु भयो । धनी पुर्जाका लागि यहाँका बासिन्दाहरूले विभिन्न समयमा अहिलेसम्म विभिन्न आयोग तथा समितिमा गरेर ७ पटक निवेदन दर्ता गरेका छन् । निस्सा वितरणले यहाँ खुसीयाली छाएको छ ।

धनी पुर्जा नभएपछि विस्थापित

वर्षौँदेखि बसोबास रहे पनि धनी पुर्जा नपाएपछि यस वडाबाट बाहिर बसाई सराइ जानेको सङ्ख्या अधिक रहेको वडाध्यक्ष नवीन लिम्बुले बताउनु भयो । दुई दशकको अवधिमा यहाँबाट बसाई सराई जानेको सङ्ख्या आधाभन्दा बढी रहेको छ । उहाँका अनुसार १५ वर्ष अघिसम्म यहाँ ८ सयभन्दा बढी घरपरिवारको बसोबास रहेको थियो । 

अहिले घटेर आधा भएको छ । धनी पुर्जा नै नभएपछि यहाँ बस्नको सट्ट अन्यत्र जाने सङ्ख्या धेरै भएको हो, उहाँले भन्नुभयो । गाउँपालिकाले दिने धेरै सुविधाहरू वञ्चित हुने आफ्नो जग्गाको धनी पुर्जा नहुँदा मानिसहरूलाई मन खिन्न हुने रहेछ, उहाँको भनाई छ । अब बसाइसराइ कम हुने अपेक्षा लिएको छौ, उहाँले भन्नुभयो ।

पालिकामा २ हजार ५ सय ८८ जनाको निवेदन दर्ता 

भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको लगत प्रविष्टिको निस्सा वडा वडामा गएर उपलब्ध गराएको गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङ्ले बताउनु भएको छ । उहाँका अनुसार माङसेबुङ गाउँपालिकामा २ हजार ५ सय ८८ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपुर्जाको माग गर्दै निवेदन दिएका थिए । 

यसमा २४ जना भूमिहीन दलित, २ सय २८ जना भूमिहीन सुकुम्वासी र २ हजार ३ सय ६ जना अव्यवस्थित बसोबासीहरु रहेका छन् । भूमिहीन दलितले १ सय ३० वर्ग मिटर, भूमिहीन सुकुम्वासीले ३ सय ४० वर्ग मिटर आवास क्षेत्र वा ३ हजार वर्ग मिटर कृषि क्षेत्र र अव्यवस्थित बसोबासीले १ हजार वर्ग मिटर आवास क्षेत्र वा १० हजार वर्ग मिटर कृषि क्षेत्रको जग्गा पाउने उल्लेख छ ।