• ६ जेठ २०८१, आइतबार

हमास आतङ्कमा अस्ताएका स्वर्णकारको अन्त्येष्टि

blog

शनिवार साँझ राजेश कुमार स्वर्णकारको भौतिक शरीरको मधुवनस्थित सप्तकोसी नदी किनारमा अन्त्येष्टि गरिँदै । तस्बिर: बाबुराम कार्की

वराहक्षेत्र, कात्तिक १९ गते । दक्षिणी इजरायलमा प्यालेस्टिनी हमास समूहको आक्रमणमा परी मारिएका सुनसरीको वराहक्षेत्र ११ मधुवनका २४ वर्षीय राजेश कुमार स्वर्णकारको भौतिक शरीरलाई शनिवार साँझ सप्तकोसी नदीमा अन्त्येष्टि गरिएको छ ।

आफ्नो संस्कारअनुसार स्वर्णकार परिवारले राजेशको सप्तकोसी किनारमा अन्त्येष्टि गरिएको हो । फ्लाइट दुबईको जहाजमार्फत शुक्रवार राति नेपाल आइपुगेको स्वर्णकारको शवलाई काठमाडौँबाट शनिवार साँझ नेपाली सेनाको कल साइन एन ए ०४१ जहाजबाट शव विराटनगर ल्याइएको थियो । 

वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की र राजेशका आफन्त शव लिन शनिवार दिउसै विराटनगर विमान स्थल पुग्नु भएको थियो । वराहक्षेत्र नगर प्रमुख रमेश कार्कीले शव बुझ्नुभएको थियो । विमान स्थलबाट मधुवन घर ल्याएर शनिवार साँझ नै घर बाट शव यात्रा निकालिएको थियो । 

धार्मिक परम्परा अनुसार सप्तकोसी नदीमा शनिवार राति १० बजे अन्त्येष्टि गरिएको परिवारजनले जनाएका छन् । राजेशको शवमा दागबत्ती राजेशको कान्छो भाइ चन्दले दिएको छिमेकी कृष्ण घिमिरेले जानकारी दिनुभयो । कान्छो भाइ चन्दन (किरिया) मा बस्नु भएको छ । 

परिवार र आफ्नो  सपनालाई पछ्याउँदै इजरायलमा कृषि इन्टर्नसिप अध्ययनको लागि पुगेको २८ दिनमै प्यालेस्टिनी हमास समूहको आक्रमणमा परी राजेश कुमार स्वर्णकार सहित १० जना नेपालीले ज्यान गुमाउनु परेको थियो ।  

मारिएका राजेश कुमार स्वर्णकारको भौतिक शरीरलाई २८ अैाँ दिनमा  अन्त्येष्टि गरिएको हो । कृषि इन्टर्नसिप अध्ययनको लागि इजरायल पुगेका १० जना नेपाली विद्यार्थीहरू दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणमा परी उतै अस्ताएका थिए ।

कृषिमा इन्टर्नसिप गर्न इजरायल पुगेका स्वर्णकारले  एक वर्षमा घर फर्किन्छु भन्दै गएको छोरो कहिल्यै नफर्किने गरी अस्ताएको खबर पाएदेखि स्वर्णकारको घर परिवार विक्षिप्त बनेको थियो । अध्ययन पूरा गरेर परिवारको सपना पूरा गर्ने उद्देश्यले इजरायल पुगेको छोरोको मृत्युको सुनेदेखि पूरै गाउँ, परिवार र आफन्तहरू विक्षिप्त बनेका थिए ।

स्वर्णकार सुदूरपश्चिम विश्व विद्यालयको कृषि सङ्काय स्नातक तहको आठौँ सेमेस्टरमा अध्ययनरत थिए । नेपाल इजरायल सरकारको सहयोगमा  ‘लर्न एन्ड अर्न’ कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयबाट उनी इजरायल पुगेका थिए । गत २० असोजमा इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा प्यालेस्टानी इस्लामिक समूह हमासको आक्रमणमा परी स्वर्णकारसहित १० जना नेपालीको मृत्यु भएको थियो । 

Author

बाबुराम कार्की