• १३ साउन २०८१, आइतबार

बिरुवा उत्पादनबाट राम्रो आम्दानी

blog

वीरेन्द्रनगर नगरपालिका वडा –४ की प्रिसिला गिरीको नर्सरी । तस्बिर : रजनी योगी

रजनी योगी

सुर्खेत, कात्तिक १४ गते । वीरेन्द्रनगर नगरपालिका–४ की प्रिसिला गिरीको दैनिकी तरकारीको बिरुवा उत्पादन र बिक्रीमै बितिरहेको छ । विगत तीन वर्षदेखि यस व्यवसायमा आबद्ध रहनुभएकी गिरीले समयानुकूल विभिन्न जातका तरकारीका बिरुवा उत्पादन गरिरहनुभएको छ । 

२०७७ बाट व्यावसायिक कृषि सुरु गर्नुभएकी गिरीले २०७९ मा नर्सरी सुरु गर्नुभएको थियो । शीतल कृषि तथा पशुपालन समूहमा आबद्ध हुँदै उहाँले व्यवसाय अघि बढाउनुभयो । अघिल्लो वर्ष मात्र तरकारीका बिरुवा बेचेर डेढ लाख आम्दानी गर्नुभएकी गिरीले यस वर्ष तरकारीका बिरुवा बेचेर ५० हजार आम्दानी गरिसक्नुभएको छ ।

उहाँको नर्सरीमा यतिबेला काउली, बन्दालगायतका बिरुवा बिक्री भइरहेका छन् । बेमौसमीयामलाई मध्यनजर गर्दै तरकारीका बिरुवा उत्पादन गदैँ आउनुभएकी गिरीले यस व्यवसायबाट नाम र दाम दुवै मिलेको बताउनुभयो । प्रिसिला गिरी युवा व्यवसायी हुनुहुन्छ । उहाँ २२ वर्ष पुग्नुभयो । गिरीले सुर्खेतको बडिचौरमा रहेको जनज्योति माविबाट तीन वर्षीय कृषि प्राविधिक अध्ययन गर्नुभएको छ । 

‘बिरुवा उत्पादन सुरु गरेदेखि समाजमा मेरो पहिचान फेरिएको छ, छोटो समयमा आम्दानी हात परिरहेको छ, घरमै बसेर बिरुवा उत्पादन गरी बिक्री गरेर दिनहरू बित्छन्’ गिरीले भन्नुभयो । आफै कृषि प्राविधिक भएकाले थप सहज भएको उहाँको अनुभव छ । तीन लाख लागतबाट व्यवसाय सुरु गर्नुभएकी गिरीले अहिले लगानी बढाएर २० लाख पुगाउनुभएको छ ।   

तरकारी खेतीको तुलनामा बिरुवाबाट छोटो समयमा आम्दानी तत्काल लिन पाइने, बिरुवा बिक्रीका लागि समस्या नरहेको गिरीको भनाइ छ । उहाँका अनुसार बिरुवा उत्पादन गर्दा लाभ भइरहेको छ, बजारको समस्या छैन । 

‘तरकारीको तुलनामा बिरुवाबाट धेरै फाइदा छ, तरकारीले बजार नपाएर कुहाएर फाल्नुपर्ने अवस्था पनि आउँछ उहाँले भन्नुभयो, ‘लागतअनुसारको मूल्य पाइँदैन, रोग कीराले सताउने गर्छ, बिरुवा बेच्न धेरै सजिलो छ ।’ गिरीले एक वर्षमा करिब डेढ लाख बराबरको बिरुवा बिक्री गर्ने गरेको बताउनुभयो । नर्सरीबाटै धमाधम बिरुवा बिक्री हुनेगरेको उहाँको भनाइ छ । 

सुर्खेतको वीरेन्द्रनगर आसपासलगायत छिमेकी जिल्ला, दैलेख, जाजरकोट लगायतका स्थानबाट ग्राहक घरमै बिरुवा खरिद गर्न आउनेगरेको गिरीले बताउनुभयो । बिरुवा बिक्रीबाट राम्रो आम्दानी भएको उहाँको भनाइ छ  । गिरीले बिरुवा उत्पादनका अलावा पशुपालन, गँड्यौला मल उत्पादन गर्नुभएको छ । 

यतिबेला गिरीलाई ग्राहकको मागअनुसार बिरुवा पुगाउन हम्मे–हम्मे भइरहेको छ । बेमौसमी बिरुवा उत्पादन गर्ने किसान कम भएकाले बिरुवा खरिद गर्न आउने बर्सेनि ग्राहक बढिरहेको उहाँको भनाइ छ । बिरुवा राम्रो पाइने भएकाले पनि धेरै ग्राहकले खोजी–खोजी घरमै पुगेर खरिद गर्नेगरेकाले बजारको समस्या नरहेको उहाँले जानकारी दिनुभयो । 

राम्रो मूल्यका लागि किसानले असोज र कात्तिकमा काउली, बन्दा, गोलभेँडा, ब्रोकाउली, प्याजका बिरुवा उत्पादन गर्छन् भने माघ र फागुनमा लहरेबालीका बिरुवा उत्पादन गरी बिक्री गर्ने गर्दछन् । बेमौसमीयामका बिरुवा भएकाले किसानले मूल्य राम्रै पाउँछन् । अहिले काउली र बन्दाको प्रतिबोट बिरुवा पाँच रुपियाँमा बिक्री भइरहेको गिरीले बताउनुभयो । 

यस्तै, दैलेखको डुङ्गेश्वर गाउँपालिका –६ का देवेन्द्र गोदारले पनि बिरुवा बिक्रीबाटै राम्रो आम्दानी गरिरहनुभएको छ । उहाँले नर्सरीबाट गाउँघरमै बिरुवा उत्पादन र बिक्री गर्ने गर्नुभएको छ । विगत सात वर्षदेखि बिरुवा उत्पादन बिक्री गरिरहनुभएका गोदारले यस व्यवसायबाट आफू समाजमा चिनिने अवसर पाएकोमा खुसी व्यक्त गर्नुभयो । 

ग्राहकको मागअनुसार बिरुवा पुगाउन नसकिएको उहाँको भनाइ छ । बिरुवा उत्पादन, पशुपालन, धान, गहुँ, मकै, तरकारी खेती सँगसँगै गरिरहनुभएका उहाँले बिरुवा बिक्रीबाट राम्रो आम्दानी हुनेगरेको बताउनुभयो । 

आफैँले बिरुवा उत्पादन गरेर तरकारी लगाउन थालेपछि उत्पादनमा वृद्धि भएको उहाँको भनाइ छ । घरायसी कामधन्दासँगै आयआर्जनका लागि मौसमी तथा बेमौसमी विभिन्न जातका बिरुवा लगाएर आत्मनिर्भर बन्न सकिने उहाँको अनुभव छ । सुरुमा १६ लाख लगानीमा व्यवसाय सुरु गर्नुभएका उहाँले अहिले ७० लाखको हाराहारीमा लगानी पुगेको जानकारी दिनुभयो ।