• २० असोज २०८१, आइतबार

आफन्तबीच भेटघाट गर्ने अवसर बन्दै चाडपर्व

blog

पेदाङमा परिवारका सदस्य र आफन्तहरु भेला भएर दसैँको टीका लगाएपछिको सामुहिक तस्बिर । तस्विर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, कात्तिक ९ गते । दसैँ तिहारजस्ता चाडपर्व आफन्तबीच भेटघाट गर्ने अवसर बन्दैगएको छ । चाडपर्व नेपालीहरुको संस्कार तथा संस्कृति मात्र नभइ लामो समयसम्म एकठाउँ नभएका परिवार र आफन्तबीच भेटघाट गर्ने अवसरका रुपमा लिन थालिएको हो ।

वैवाहिक सम्बन्धसँगै जागिर, अध्ययन र व्यवसायलगायत सिलसिलामा लामो समय भेट नभएका परिवारका सदस्य र आफन्तबीच भेटघाट गराउने माध्यम चाडपर्व बनेको छ । नेपालीको मुख्य चाड दसैँ मनाउन गाउँदेखि टाढा रहेका परिवारका सदस्य र आफन्तहरु गाउँघर फर्किनाले चाडपर्व रमाइलो हुनेगरेको छ भने आफन्तबीचको भेटघाटले परिवारमा छुट्टै खुसीयाली छाउनेगरेको छ ।

दसैँ पर्वसँगै जागिर, अध्ययन र अन्य पेशा व्यवसायका कारण वर्षौंसम्म भेट नभएका आफन्तीबीच भेटघाट गराएको सिरिजङ्घा गाउँपालिका –५ पेदाङका स्थानीय खेलप्रसाद बुडाक्षेत्रीले बताउनुभयो । माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहनुभएका बुडाक्षेत्रीले दसैँ पर्व नेपालीको पर्व मात्र नभइ आफन्त र परिवारका सदस्यबीच भेट गराउने गतिलो अवसर भएको बताउनुभयो ।

उहाँकाअनुसार जागिर, अध्ययनसँगै अन्य कामले घरगाउँ बाहिर रहेका परिवारका सदस्य साथै वैवाहिक सम्बन्धपछि आफ्नो कर्मथलोमा रहेको छोरीचेली लगायतका आफन्तको जमघटले चाडपर्व रमाइलो बनाएको छ । 

यस्तै चाडपर्वको अवसरसँगै लामो समयपछि आफन्तबीचको भेटघाटले सबैको परिवारमा थप खुसीयाली छाएको उहाँले बताउनुभयो । सिदिङ्वा गाउँपालिका–४ साब्लाखुका स्थानीय सञ्जय पन्दाकले पनि विभिन्न काम र आ–आफ्नो जिम्मेवारीको व्यस्तताले लामो भेट नभएका परिवारका सदस्य र आफन्तबीच भेटघाट गराउने राम्रो अवसर चाडपर्व भएको बताउनुभयो । 

दसैँ नेपालीहरुको महान् पर्वका रुपमा लिने गरिएका कारण विदा पनि धेरै दिन हुने गरेको छ । सरकारी कार्यालय, शिक्षण संस्था, गैरसरकारी लगायतका कार्यालयहरु अन्य पर्वमाभन्दा लामो समय अर्थात धेरै दिन विदा हुने भएकाले घरबाहिर रहेका सदस्यहरु दसैँ मनाउनलाई घर फर्कने हुँदा परिवारमा सबै सदस्यबीच भेट हुने गर्दछ । 

त्यसैगरी आफ्ना मान्यजनबाट टीका र आशीर्वाद थाप्न परिवारका सदस्यबाहेक आफन्तजनसमेत आउजाउ गर्ने प्रचलन रहिआएको छ । त्यसैले दसैँ पर्वलाई परिवारका सदस्य र आफन्तबीच भेट गर्ने अवसरका रुपमा लिने गरिएको स्थानीयको बुझाइ छ ।