• २८ पुस २०८१, आइतबार

गठबन्धन भत्काउने षडयन्त्र विफल : प्रधानमन्त्री

blog

भरतपुरमा आयोजित तीन वटा खानेपानी आयोजनाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । तस्बिर : वसन्त पराजुली

वसन्त पराजुली
भरतपुर, असोज २८ गते । 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा समाजवादको आधार तयार गर्दैगर्दा केहीलाई छटपटाहट भएर वर्तमान सरकार गठबन्धन भत्काउन लागेका आरोप लगाउनुभएको छ ।

भरतपुर महानगरमा निर्माण भएका तीन वटा छुट्टाछुट्टै खाने पानी आयोजनाको आइतबार यहाँ आयोजित एक कार्यक्रमलाई उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले गठबन्धन भत्काउने षडयन्त्र विफल भएको बताउनुभयो ।

“देश भित्र र देश बाहिर रहेका नेपालीको हितमा काम गर्दा केही थरीलाई तनाव भएको छ । गठबन्धनलाई विभाजन ल्याउन सकिन्छ कि भनेर लागेका छन्, तर त्यो षडयन्त्र असफल भएको छ,” कोशी प्रदेश सरकार गठन प्रक्रियामा देखिएको झमेलालाई सङ्केत गर्दै प्रधानमन्त्री प्रचण्डले थप्नुभयो, “हामीले राष्ट्र र जनताका पक्षमा काम गर्दै जाँदा यस्ता षडयन्त्रहरू आफै विफल हुँदै जाने छन् ।”


“विदेशमा गएका लाखौँ नेपालीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध बनाउने वा उनीहरूको भविष्य सुन्दर बनाउने पहल या देश भित्रै अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरू या घरमै स्वरोजगारको काम गर्नेहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने कुरा आफैँमा एउटा ठुलो सामाजिक न्यायको काम हो”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका लाखौँ नेपालीहरूको नागरिकता र मतदानको समस्या समाधान गर्न सरकारले पहल गरिरहेको जानकारी पनि दिनुभयो ।

“विदेशमा रहेका नेपालीहरूको नागरिकताको समस्या समाधान गर्न उनीहरूको मतदानको अधिकारी सुनिश्चित गर्न पनि यो सरकारले पहल अगाडि बढाएको छ”, उहाँले भन्नुभयो, “देश बाहिर बसोबास गर्नेको मात्रै हैन देश भित्रै रहेका नागरिकको नागरिकताको समस्या समाधानका लागि पनि यो सरकारले काम गरेको छ । यसलाई नेपाली जनताले राम्रैसँग नियालेका छन् ।” 


सुशासनका पक्षमा, सामाजिक न्याय र आर्थिक संवृद्धिका पक्षमा सरकारले आफ्नो प्रतिबद्धता पूरा गरेको प्रधानमन्त्रीको भनाइ छ ।

“देशमा सुशासन कायम गराउने कुरा होस् वा सामाजिक न्याय र आर्थिक संवृद्धिका पक्षमा होस् यो सरकार बन्दै गर्दा गरिएको ‘कमिन्टमेन्ट’ अहिले पूरा हुँदै छ । अहिले देशमा धेरै क्षेत्रमा धेरै कुरामा सुधार भएको छ” उहाँले भन्नुभयो । देशको राष्ट्रिय स्वाधीनता र स्वतन्त्रतामा पनि सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाइ छ ।

“देशको राष्ट्रिय स्वाधीनता स्वतन्त्रता र आत्मसम्मानलाई अभिवृद्धि गर्नका लागि मेरो भारत भ्रमण या इटालीको खाद्यसँग सम्बन्धित राष्ट्रसङ्घको सम्मेलन होस् या भर्खरै संयुक्त राष्ट्रसङ्घको महासभामा अमेरिका र चीनमा जे जस्ता सहमति र समझदारी भएका छन् त्यसले  नेपालको प्रतिष्ठालाई नेपालको राष्ट्रिय स्वाधीनतालाई र देशको  असंलग्न र स्वतन्त्र परराष्ट्र नीतिलाई नयाँ उचाइमा उठाएको छ”, प्रधानमन्त्रीले भन्नुभयो । 

प्रधानमन्त्रीले खानेपानी र सरसफाइ तथा विकास निर्माणमा सरकारको निरन्तर पहल रहने बताउनुभयो । कार्यक्रममा बोल्नुहुँदै खाने पानी तथा सरसफाइ मन्त्री महेन्द्र राय यादवले जल नै जीवन भएकाले नागरिकलाई शुद्ध पानी खुवाउने सरकारको पहिलो दायित्व भएको बताउनुभयो ।

“खानेपानीसँगै बढ्दै गएको प्रदूषण रोक्नु पनि अहिलेको सरकारको दायित्व हो हामी त्यो दायित्व पूरा गर्न सक्षम छौँ,” उहाँले भन्नुभयो ।


कार्यक्रममा बोल्नुहुँदै भरतपुर महानगरका प्रमुख रेणु दाहालले दुई वर्ष भित्र भरतपुर महानगरका सत् प्रतिशत नागरिकलाई शुद्ध खानेपानी सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।प्रधानमन्त्री प्रचण्डले चितवनमा आज उद्घाटन गर्नुभएको शारदा नगर, जखेडी माई र दिब्यनगर खानेपानी आयोजनाले ग्राहकलाई खानेपानी सुविधा समेत उपलब्ध गराउन थालेको छ ।

करिब ४६ करोड ७२ लाख रुपियाँ लागतमा निर्माण गरिएको शारदा नगर खानेपानी आयोजनाबाट तीन हजार पाँच सय घरधुरी लाभान्वित छन् भने दिव्यनगर खानेपानी आयोजनाबाट एक हजार आठ सय ५५ घरधुरी लाभान्वित छन् । यसको लागत दुई करोड ९८ लाख रहेको छ । यसैगरी ३८ करोड ४० लाख लागतमा  जखेडीमाई खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको छ । यो आयोजनाबाट तीन हजार ३६८ घरधुरी लाभान्वित हुने आयोजनाले जनाएको छ ।