• २४ असार २०८२, मङ्गलबार

‘जनताको आत्मविश्वास फर्काउनु पर्छ’

blog

सुलीकोट समाचारदाता  

सुलीकोट, असोज २८ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो समय जनतामा गुम्दै गएको आत्मविश्वास फर्काउन लाग्नुपर्ने बताउनुभएको छ । शुक्रबार नेपाली कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलन उद्घाटन गर्दै उहाँले यस्तो भन्नुभएको हो । 

उहाँले भन्नुभयो, “राजाको जयकार गर प्रधानमन्त्री हुन्छस्भन्दा बरु जेल जान तयार भएका नेतृत्वले बनाएको पार्टी भएकाले नेपाली कांग्रेसले नागरिकको मर्म बुझ्छ ।” नेता थापाले बताउनुभयो, “कांग्रेसका नेता कार्यकर्ताले अहिले २०८४ सालको चुनावको चिन्ता गरेर बस्ने बेला नभई देशको हितका बारेमा सोच्ने बेला हो । चुनाव आउँछ जान्छ, जितिन्छ हारिन्छ त्यो ठुलो कुरा होइन, चुनाव त एउटा सामान्य प्रक्रिया हो ।” कांग्रेसले जहिले पनि देशको हितलाई सर्वाधिक ठानेर काम गर्दै आएको भन्दै उहाँले अहिले पनि देशको हितलाई सर्वस्व ठानेर काम गर्नुपर्ने बताउनुभयो । 

नेपाली जनताको निराशालाई चिर्न कांग्रेस लाग्नुपर्ने पनि उहाँले बताउनुभयो । उहाँले अहिले नागरिकमा सबैभन्दा ठुलो निराशा देखिएकाले त्यसलाई चिर्ने काम कांग्रेसबाट हुनुपर्ने  बताउनुभयो । महामन्त्री थापाले अहिलेको सत्तारूढ गठबन्धन दुई/चार जना नेताको निजी क्लब जस्तो भएको आरोपसमेत लगाउनुभयो । महामन्त्री थापाले भन्नुभयो, “म कांग्रेसको महामन्त्री छु बेला बेलामा गठबन्धन दलको बैठक बस्यो भन्ने सुन्छु त्यो गठबन्धन दलको बैठक बसेको होइन, गठबन्धन दलका नेताको बैठक मात्र हो ।” 

नेपालको मुख्य राजनीतिक दलका मुख्य नेता नेपालको मुख्य पदमा २०/२५ वर्षदेखि दुई/चार जना मात्रै आलोपालो पार्टीको नेतृत्व र सत्ताको नेतृत्वमा पुग्ने गरेको महामन्त्री थापाकोे भनाइ छ । कांग्रेसलाई कहिले एमाले खेलाइदिने, कहिले माओवादीले खेलाइदिने हुँदा हुँदा राप्रापाले समेत खेलाइदिने अवस्थामा पुगेको भन्दै रूपान्तरण गर्नु अनिवार्य रहेको उहाँले उल्लेख गर्नुभयो । महामन्त्री थापाले अब आउने कुनै पनि प्रकारको चुनावमा कांग्रेसले कसैसँग चुनावअघि गठबन्धन नगर्नेसमेत बताउनुभयो । 

उहाँले भन्नुभयो, “आमनागरिकको तहबाट कांग्रेसले गरेको गठबन्धनलाई सकारात्मक रूपमा लिइएन । यसलाई दलले सरकार बनाउनका लागि वा सत्ताका निम्ति जे पनि गर्ने रहेछ भन्ने ढङ्गले जनताले लिए । यसलाई पवित्र मानिएन यसलाई हामीले स्वीकार गर्नुपर्छ ।”