• २८ पुस २०८१, आइतबार

प्रभावकारी बन्दै ‘झोलाविहीन शुक्रबार’ अभियान

blog

ज्ञानोदय माध्यमिक विद्यालयमा टपरी गाँस्दै विद्यार्थी । तस्बिर : मीना कँडेल

मीना कँडेल

कावासोती, असोज १९ गते । पूर्वी नवलपरासीमा रहेका सामुदायिक विद्यालयले विद्यालयलाई प्रविधिमैत्री बनाउन ‘झोलाविहीन शुक्रबार’ बनाउने नीति लिएका छन् । बालबालिकालाई अतिरिक्त क्रियाकलाप तथा जीवनउपयोगी ज्ञान र कलातर्फ आकर्षित हुनेगरी विद्यालयलाई क्रमशः ‘झोलाविहीन शुक्रबार’ बनाउने नीति लिएको छ । 

पछिल्लो समय विद्यालयमा शुक्रबार विभिन्न अतिरिक्त कार्यक्रमको आयोजना गर्ने गरिएको छ । विद्यार्थीलाई शैक्षिक ज्ञानमात्र नभई सीपमूलक ज्ञानको पनि आवश्यकता रहेकाले विद्यालयमा व्यावहारिक शिक्षा दिन थालिएको कावासोती –८ मा अवस्थित ज्ञानोदय माविका प्रधानाध्यापक चेतनाथ अधिकारीले बताउनुभयो  ।

उहाँले भन्नुभयो, “पछिल्लो समय बालबालिका आफैँ पनि अतिरिक्त क्रियाकलापमा सहभागी हुन इच्छुक देखाउने हुँदा हप्ताको एक दिन अर्थात् शुक्रबार विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा समावेश गराउने गरेका छौं । 

“बालबालिकाले दैनिक रुपमा प्रयोगमा आउने सामग्रीलाई राम्रोसँग पहिचान गर्नसक्ने र बनाउन पनि सिक्ने हुँदा दुनाटपरी बनाउने, घरमा प्रयोग हुने नाङ्लाे बनाउने, घर लिपपोत गर्ने, विद्यालयमा सरसफाइ र प्लम्बिङसम्बन्धी ज्ञान दिँदै आएको प्रधानाध्यापक अधिकारीले बताउनुभयो ।

यस्तै, कावासोती वडा २ को नवदुर्गा आधारभूत विद्यालयमा पनि विद्यार्थीलाई ‘झोलाविहीन शुक्रबार’ अन्तर्गत अतिरिक्त क्रियाकलापमा समावेश गर्ने गरिएको विद्यालयका प्रधानाध्यापक टीकाराम डुम्रेले जानकारी दिनुभयो । विद्यालयमा वक्तृत्वकला, चित्रकला, हाजिरीजवाफसँगै  कक्षा ६, ७, ८ का विद्यार्थीलाई टपरी बनाउने, बत्ती काट्ने सीपमुूक शिक्षा दिनेगरेको उहाँले बताउनुभयो ।

देवचुली  वडा –१ मा रहेकोे नेपाल आधारभूत विद्यालयले पनि विगत केही समय अगाडिदेखि विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । झोलारहित शुक्रबार अभियानमा विद्यालर्थीलाई विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गर्दा व्यावहारिक ज्ञान हासिल गरेको नेपाल आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी सदीक्षा भण्डारीले बताउनुभयो ।

विद्यार्थीलाई विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी गराइरहँदा नाटकलाई पनि विद्यालयले प्राथमिकतामा राख्ने गरेका छन् । विद्यार्थीमा विविधता नै नाटकको आवश्यकता भन्दै देवचुली वडा ७ मा रहेको भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयले नाटक कक्षा सञ्चालनमा ल्याएको छ । 

अहिलेको युगमा बालबालिकालाई शैक्षिक ज्ञानमा मात्रै ध्यान दिनुभन्दा पनि विद्यार्थीको रुचि र उनीहरुको मनोबल बुझ्न आवश्यक रहेको विद्यालयका प्रधानाध्यापक अग्निधर भुसालले बताउनुभयो ।

विद्यालयमा विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै अन्य विविध क्रियाकलापमा समावेश गराउँदा विद्यार्थी स्वयंम्ले आफूभित्र भएका प्रतिभालाई उजागर गर्ने अवसर पाइरहेका छन् । विद्यालयमा सिकाइ क्रियाकलापको गुणस्तर वृद्धिका लागि “शिक्षासँगै इलम र जिम्मेवारी भन्ने भनाइको सारलाई आत्मसात् गरी सिकाइलाई जीवनाेपयोगी बनाउन आधारभूत ज्ञान, सरसफाइ र फोहाेरमैला व्यवस्थापन, स्थानीय संस्कृति एवम् ऐतिहासिक महत्वका स्थलको जानकारी विद्यार्थीले पाउनेगरेको कावासोती शाखा अधिकृत राजन पाण्डेले बताउनुभयो ।