• १३ साउन २०८१, आइतबार

ड्रागन खेतीबाट मनग्य आम्दानी लिँदै किसान

blog

घोराही उपमहानगरपालिका –१८ अकबरेमा व्यावसायिक रुपमा गरिएको ड्रागन फलको खेती । तस्बिर : लीलाधर वली

लीलाधर वली

घोराही, असोज ११ गते । दाङमा ड्रागन फलको व्यावसायिक खेती गरेका किसानले राम्रो आम्दानी लिने गरेका छन् । जिल्लामा नयाँ प्रजातिको फलका रूपमा रहेको ड्रागन फल अन्य फलफूलको तुलनामा महँगोमा बिक्री हुनेगरेका कारण राम्रो आम्दानी हुनेगरेको कृषकको भनाइ छ ।

घोराही उपमहानगरपालिका–१८ को अकबरेमा ड्रागन फलको व्यावसायिक खेती गर्दै आउनुभएका विक्रम बुढाले ड्रागन खेतीबाट आफू सन्तुष्ट रहेको बताउनुभयो ।  

करिब ५० लाख रुपियाँ खर्च गरेर ६ जनाको समूहले दँगाली ड्रागन फुरूट फर्म दर्ता गरेर विगत पाँच वर्षदेखि दुई बिघा बढी जमिनमा व्यावसायिक खेती गर्दै आउनुभएका बुढाले वर्षमा २० देखि २५ लाख रुपियाँसम्म आम्दानी गर्नेगरेको बताउनुभयो । 

व्यवसायी बुढाले भन्नुभयो, ‘दुई बिघा क्षेत्रफलमा करिब १३ सय बढी बिरुवाहरू रहेका छन्, प्रतिबिरुवा ३० देखि ४० किलोसम्म उत्पादन हुँदा पनि २० देखि ३० लाख रुपियाँसम्म आम्दानी हुनेगरेको छ ।’ विगतका वर्षजस्तै मूल्य भए ड्रागन फलबाट राम्रो आम्दानी भए पनि पछिल्लो समय जिल्लामा धेरै ठाउँमा ड्रागन फल खेती हुनेगरेका कारण मूल्यमा कमी हुँदैआएको उहाँको भनाइ छ । 

उहाँका अनुसार ३–४ वर्षअघिसम्म प्रतिकिलो ८५० रुपियाँले विक्री गरेको भन्दै बर्सेनि मूल्य घट्दै आउँदा यसवर्ष ३ सय ५० देखि ४ सय ५० रुपियाँसम्म फल विक्री गर्दैआएको बताउनुभयो । 

किसान बुढाले भन्नुभयो, ‘चार वर्षअघिजस्तै मूल्यमा अहिले ड्रागन फल विक्री हुन्थ्यो, कमाउन कहीँ जानुपर्ने थिएन । तर विगतको तुलनामा दोब्बरले मूल्यमा कमी आए पनि घाटा भने भएको छैन ।’ धेरै लगानी गरेर विदेश जाने र स्वदेशमा केही छैन भन्नेहरूका लागि मेहनत गर्न सके ड्रागन खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ । 

अन्य तरकारी, पशुपालन लगायतका कृषि व्यवसायमा मेहनतअनुसारको लगानी हुन नसकेको गुनासो आउने गरे पनि ड्रागन फलको खेतीमा त्यो समस्या नरहेका अर्का व्यवसायी दिलचन बुढाले बताउनुभयो । 

किसान बुढाले भन्नुभयो, ‘दुःख नगरेर कृषिमा आम्दानी हुँदैन । आफै खटिएर काम गर्ने हो भने राम्रो आम्दानी लिन सकिन्छ ।’ फर्ममा उत्पादन पनि राम्रो भएको र विक्रीका लागि घोराही बजार पनि नजिकै रहेकाले आफूलाई विक्रीका लागि समस्या नभएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘सुरुमा थोरै उत्पादन हुँदा विक्रीमा समस्या थिएन, तर अहिले जिल्लाका विभिन्न ठाउँमा धेरै उत्पादन हुन थालेको छ । जस्लेगर्दा विक्रीमा पनि कहिलेकाहीँ समस्या हुनेगरेको छ ।’ 

एकै पटक रोपेपछि लामो समयसम्म आम्दानी लिन सकिने र अन्य खेतीको तुलनामा मेहनत पनि कम लाग्ने भएपछि पछिल्लो समय जिल्लामा धेरै किसानहरू ड्रागन फलको व्यावसायिक खेतीमा लाग्नुभएको छ । 

व्यवसायीका अनुसार जिल्लामा करिब २० देखि ३० बिघासम्म जमिनमा व्यावसायिक रूपमा ड्रागन फलको खेती हुने गरे पनि यकिन तथ्याङ्क नभएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

सिँचाइका लागि धेरै पानी आवश्यक नपर्ने र पहाडी भिरालो ठाउँमा पनि राम्रो आम्दानी लिन सकिने भएका कारण धेरै किसानहरू पछिल्लो समय ड्रागन फल खेतीमा लाग्नेगरेको व्यवसायीको भनाइ छ । जिल्लामा सबैभन्दा पहिले नेकपा (माओवादी केन्द्र) का पूर्व नेता एवं मन्त्री लोकेन्द विष्टले तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीमा खेतीको सुरुवात गर्नुभएको थियो ।