बनेपा समाचारदाता
काभ्रेपलाञ्चोक, असोज १० गते । काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको धुलिखेल अस्पतालले कफी, निम, एलोभेरालगायतका जडीबुटीबाट छालाको स्याहारका लागि आफैँले विभिन्न सौन्दर्य (कस्मेटिक्स) सामग्री उत्पादन गरेको छ । अस्पतालले सन् २०१५ देखि छालासम्बन्धी स्याहार एवं उपचारका लागि अनुसन्धानका एवं विकास योजनाका रूपमा ‘स्याहार’ नामका विभिन्न सौन्दर्यका सामग्री उत्पादन गर्दै आएको जनाएको छ ।
अस्पतालले सोमबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी सन् २०१६ देखि ‘स्याहार’ नामक छालासँग सम्बन्धित सौन्दर्यका सामग्री उत्पादन तथा बजारीकरण गर्दै आएको जनाएको हो । पत्रकार भेटघाट कार्यक्रममा अस्पतालका प्रशासन सहायक सचिन माकजूले हाल अस्पतालले स्याहार नामका छालसँग सम्बन्धी ५० थरीका क्रिम, झोल, साबुन, लिप केयरलगायतका सामग्री उत्पादन गर्दै आएको बताउनुभयो । माकजुले भन्नुभयो, “अस्पतालको पाँचखालस्थित बालुवा स्वास्थ्य केन्द्र (आउटरिच सेन्टर) बाट कफी, चिउरी, गुलाफ, अमला, निम, चुत्रो, ओट्स, एलोभेरा, बेसारलगायतका जडीबुटी तथा फलफूलका बिरुवालाई प्रशोधन गरी स्याहार नामका सौन्दर्यका सामग्री उत्पादन गर्दै आएका छौँ ।”
उहाँले अस्पतालले सौन्दर्य सामग्री उत्पादनका लागि आफैँले केही जडीबुटी तथा बिरुवा लगाएको बताउँदै ती कच्चा पदार्थबाट मात्रै नपुग्ने भएपछि स्थानीयले उत्पादन गरेको जडीबुटी तथा फलफूल खरिद गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पाँचखालमा एलोभेरालगायतका अन्य जडीबुटी पनि लगाएका छौँ । त्यहाँ उत्पादन भएको कच्चा पदार्थलाई ल्याएर सामग्री उत्पादन गर्ने छौँ ।” उहाँले पछिल्लो समय पाँचखाल नगरपालिकासँग करिब तीन सय रोपनी जमिनका लागि सम्झौता गर्ने चरणमा रहेकाले उक्त जमिनमा एलोभेरालगायतका स्याहारका लागि आवश्यक बिरुवा लगाइने बताउनुभयो ।