बिन्दु थापा
पाल्पा, असोज ८ गते । रामपुर नगरपालिकाले टोलमै आएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । नगरपालिकाले हरेक नागरिकको सहजताका लागि टोल र वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको हो ।
पहिलो चरणमा दूरीका हिसाबले बैंकसम्म पुग्न टाढा रहेका वडाबाट यो कार्यक्रम सञ्चालन गर्नेभएको छ । जनताको सेवा सहजताका लागि नगरपालिकाले वडा १, ९ र १० का नागरिकलाई दृष्टिगत गर्दै पहिलो चरणमा यो सेवा दिन लागेको रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले बताउनुभयो ।
दूरी टाढा भएका कारण र वृद्धवृद्धा भएका ज्येष्ठ नागरिकलाई बैंकसम्म पुग्नुपर्ने बाध्यता र लाइन बस्नुपर्ने सास्ती बढी भएकाले यसको अन्त्यका लागि वडा कार्यालय र टोल टालबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यक्रम अघि बढेको उहाँले बताउनुभयो ।
“सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बैंक शाखाहरुसँगको छलफलपछि कृषि विकास बैंकसँग सम्झौता गरी आवश्यकताका आधारमा टोल टोलमा पुगेर भत्ता वितरण गर्ने सहमति गरेका छौँ” नगर प्रमुख थापाले भन्नुभयो, “पहिलो चरणमा वडा १, ९ र १० का नागरिकलाई प्राथमिकतामा राखेर काम गर्नेछौँ ।”
आवश्यकताअनुसार नगरका सबै वडा कार्यालय र टोल टोलबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने योजना रहेको नगर प्रमुख थापाले बताउनुभयो । यस्तै, रामपुर नगरपालिकाको कार्यालय भवनबाटै कृषि विकास बैंकको विस्तारित सेवा कार्यालय स्थापना गरी नागरिकलाई बैंकिङ सेवा दिने थापाले बताउनुभयो ।