• १३ साउन २०८१, आइतबार

पशुपालक कृषकलाई चार करोड अनुदान

blog

बाख्रालाई दानापानी खुवाउने तयारी गर्दै धनकुटा नगरपालिका ३ का कृषक निर प्रसाद न्यौपाने ।

कबिराज घिमिरे 

हिले, असोज ७ गते । धनकुटा र तेह्रथुमका पशुपालक कृषकहरूले बितेको आर्थिक वर्षमा करिब चार करोड अनुदान रकम पाएका छन् । आर्थिक वर्ष २०७९/०८० मा दुई जिल्लाका एक सय ५८ वटा पशुपालन सम्बन्धी व्यक्तिगत फार्म, समूह र सहकारीहरूले उक्त अनुदान पाएका हुन् । 

भेटरेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालयमार्फत विभिन्न सात शीर्षकमा कोशी प्रदेश सरकारको कार्यक्रमबाट ७५ प्रतिशत अनुदान रकम पाएका हुन् । भेटरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाका पशु प्राविधिक पुष्पराज दाहालका अनुसार एक सय वटा दुग्धजन्य तथा पशुपन्छी पालक संस्था र ५८ वटा बाख्रा फार्महरूलाई बोयर बोका अनुदानमा उपलब्ध गराइएको छ। जसमा दुग्ध जन्य उत्पादन कार्यक्रम अन्तर्गत १० लाख ३० हजार एक सय ३५ बराबरको मोटर सहितको च्याप कटर मेसिन ३५ वटा वितरण गरिएको छ । 

त्यस्तै, युवा लक्षित पशु विकास कार्यक्रम अन्तर्गत २५ वटा फार्महरूलाई ४९ लाख ४१ हजार तीन सय र सहकारी संस्था मार्फत पशुपालन कार्यक्रम अन्तर्गत एक संस्थालाई तीन लाख ४६ हजार पाँच सय ३९ रुपियाँ अनुदान दिइएको दाहालले बताउनुभयो । 

बाख्राको बृहत्तर पकेट प्याकेज कार्यक्रम अन्तर्गत दुई वटा फार्महरूले ८९ लाख ८९ हजार नौ सय र द्वन्द्व पीडित पशुपन्छी पालन कार्यक्रम अन्तर्गत ६ वटा फार्महरूलाई १६ लाख ३७ हजार एक सय ३४ रुपियाँ अनुदान दिइएको छ । त्यस्तै दुग्ध उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तर्गत ३१ दुग्ध उत्पादक संस्थाहरूलाई एक करोड ९५ लाख दुई हजार २१ रुपियाँ अनुदान दिइएको छ ।

जिल्लागत रूपमा धनकुटाका ८७ वटा र तेह्रथुमका ७१ वटा दुग्धजन्य तथा पशुपन्छी पालक फर्म तथा संस्थाहरूले अनुदान पाएका हुन् । जसमा धनकुटाका ५७ र तेह्रथुमका ४३ वटा दुग्ध उत्पादक तथा पशुपन्छी पालक फार्महरू र बोयर बोका अनुदानतर्फ धनकुटाका २८ र तेह्रथुमका ३० वटा बाख्रा फार्महरूले अनुदान पाएका छन् ।

दुई जिल्लामा हाल पाँच सय ७२ वटा व्यवसायीक पशुपन्छी फार्महरू रहेको पशु सेवा विज्ञ कार्यालय धनकुटाको तथ्याङ्क छ । जसमा धनकुटामा सबैभन्दा धेरै एक सय ५२ वटा व्यवसायी बाख्रा फार्म रहेका छन् । त्यस्तै जिल्लामा एक सय २५ वटा गाई÷भैँसी, एक सय ११ बङ्गुर र ६९ वटा व्यवसायीक कुखुरा फार्महरू छन् । 

तेह्रथुम जिल्लामा पनि सबैभन्दा धेरै ५२ वटा व्यवसायीक बाख्रा फार्म छन् । त्यस्तै जिल्लामा २९ गाई÷भैँसी,२५ बङ्गुर फार्म र नौ वटा व्यवसायीक कुखुरा फार्म रहेको कार्यालयका प्रमुख लोकनाथ ढुङ्गानाले जानकारी दिनुभयो । अहिले धनकुटामा ६२ हजार पाँच सय ७५ गाई, १७ हजार दुई सय भैँसी, १८ लाख एक हजार तीन सय ७१ बाख्रा, ३९ हजार दुई सय ४० बङ्गुर, तीन सय आठ भेडा र ४० लाख एक हजार चार सय ५४ कुखुरा छन् । 

त्यस्तै तेह्रथुम जिल्लामा गाई ५८ हजार २७, भैँसी २७ हजार ८१, बाख्रा एक लाख २७ हजार दुई सय ३७, बङ्गुर ३७ हजार पाँच सय ४६, भेडा नौ सय ४० र कुखुरा दुई लाख २५ हजार चार सय ९६ रहेको कार्यालयको तथ्याङ्क छ ।