• १३ साउन २०८१, आइतबार

तरकारी खेतीले फेरिएको गाउँ : दैनिक ५० क्विन्टल बिक्री

blog

पाटन नगरपालिका –९, धारापानीका किसान बारीको तरकारी बिक्री गर्दै । तस्बिर: गोकर्ण दयाल

गोकर्ण दयाल

बैतडी, असोज ६ गते । रोजगारी खोज्न भारत जाने गाउँमा तरकारी खेती हुन थालेपछि किसान मजदुरका अनुहार र गाउँको पहिचान नै फेरिएको छ ।   

पाटन नगरपालिका–८, ९, १० र सिगास गाउँपालिका–१, विन्द्रावन, खन्तड, बजकोट, जुकेपानी, गाउँका किसानले तरकारी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । यहाँबाट दैनिक ५० क्विन्टलभन्दा बढी तरकारी बिक्री हुँदा दैनिक तीन लाख रुपियाँ भित्रिने गरेको छ । 

चुलो बाल्न र छोराछोरी पढाउन भारतमा २० वर्षदेखि काम गर्दै आउनुभएका पाटन नगरपालिका–८, धारी जुकेपानीका वीरबहादुर विष्ट अहिले तरकारी खेतीबाट वार्षिक चार लाख रुपियाँ आम्दानी गर्दै आउनुभएको छ ।

पाटन नगरपालिकाका धारापानी, जुकेपानी, धारी, ज्यापु र सिगास गाउँपालिकाका–१, का गाउँबाट दैनिक ५० क्विन्टल तरकारी ढुवानी गरेर धनगढी र महेन्द्रनगर पठाउने गरेको तरकारीका थोक बिक्रेता केशवदत्त भट्टले बताउनुभयो । 


यहाँका गाउँमा आलु, बन्दा, रायो, काउली, टमाटर, भेडेखुर्सानी, धनियाँ र मुला उत्पादन हुनेगरेको छ । उत्पादित तरकारी कन्न किसानको घरमै गाडी लगेर जानेगरेको तरकारीका थोक बिक्रेता केशवदत्त भट्टले बताउनुभयो । 

गाउँमा कृषि क्रान्ति सुरु भएपछि रोजगारीका लागि कोरिया जानु भएका पाटन नगरपालिका –९, किचारका मोहन बिजलेले ३० रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती सुरु गर्नुभएको छ । प्याजको बेर्नाबाट मात्रै वार्षिक तीन लाख रुपियाँ आम्दानी हुनेगरेको उहाँले बताउनुभयो । 

गाउँमा तरकारी उत्पादन बढेपछि सुदूरपश्चिम प्रदेश सरकारको अगुवाइमा पाटन नगरपालिका –८, मा तरकारी भण्डारण गर्न शितभण्डार निर्माणको काम चलिरहेको वडा अध्यक्ष हरिस विष्टले बताउनुभयो । 

पाटन नगरपालिकाको खोड्पे क्षेत्रलाई आलु पकेट क्षेत्रका रूपमा घोषणा गरिएको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख घनश्याम चौधरीले बताउनुभयो । पाटन पालिकाको खोड्पे क्षेत्रमा प्रदेश सरकार, स्थानीय तह र कृषिको क्षेत्रमा काम गर्ने गैर सरकारी क्षेत्रको उल्लेख्य लगानी रहेको उहाँले बताउनुभयो । 

पाटन नगरपालिकासँग समन्वय गरी भारतमा काम गर्ने आप्रवासी कामदारको निःशुल्क दुर्घटना बिमा र घरपरिवारलाई तरकारी खेतीमा आबद्ध गर्न सीप र प्रविधि हस्तान्तरण गरिएको कृषि क्षेत्रमा काम गर्ने रुडेस संस्थाका गोविन्दराज जोशीले बताउनुभयो । 

दलित बस्तीमा हरियाली 

पाटन नगरपालिका र दशरथचन्द नगरपालिकाका किसानलाई अक्सफाम नेपालको आर्थिक सहयोगमा किसान लक्षित हरियाली कार्यक्रम सञ्चालन भइरहेको छ ।  

हरियाली कार्यक्रमले कृषि खेती गर्न सिकाएपछि रोजगारीका लागि भारत जानुपर्ने बाध्यता हटेको दशरथचन्द नगरपालिका –४, बवेतका जगदीश वडले बताउनुभयो । हरियाली कार्यक्रममा आबद्ध भएपछि ज्याला मजदुरी गर्दै आउनुभएका ललित वडले एक सिजनमा तीन लाख रुपियाँको टमाटर बिक्री गरेको बताउनुभयो । 


हरियाली कार्यक्रमले किसान समूह गठन गरी तरकारी खेतीको तालिम, पोलिहाँस, बीउ बिजन र कृषि जेटिए उपलब्ध गराइरहेको कृषि क्षेत्रमा क्रियाशील रुडेस बैतडीका गोविन्दराज जोशीले बताउनुभयो । हरियाली कार्यक्रमले दशरथचन्द नगरपालिका –४, बवेत गाउँको दलित बस्तीमा परिवर्तन ल्याएको किसानको भनाइ छ ।