जनकपुरधाम समाचारदाता
जनकपुरधाम, असोज ३ गते । भारतको बालाजी ट्रस्टले जानकी मन्दिर दर्शनका लागि आउने तीर्थयात्री बस्न बनाएको जनकपुरधामस्थित तिरुमाला तिरुपति देवस्थानम् यात्री निवास (धर्मशाला) होटलमा परिणत हुँदा तीर्थालु भक्तजनले सास्ती भोग्नु परेको छ । विगतमा जनकपुरधाम आउने यात्रुले सहजै बास पाउने स्थानमा तारे होटल सञ्चालन हुन थालेपछि तीर्थयात्री निराश भएका छन् ।
सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले सञ्चालन गर्दै आएको सरकारी स्वामित्वको उक्त अतिथि सदन निजी कम्पनी दी पिक हस्पिटालिटी प्रालिलाई २० वर्षका लागि लिजमा दिइएपछि स्थानीय बासिन्दा आव्रmोशितसमेत भएका थिए । जनकपुरधाम आउने पर्यटकले सरकारले निर्धारण गरेको दरमा सहजै बसोबास गर्न पाउने यात्री निवास अब भने भिआइपीका लागि मात्र उपयुक्त मानिन थालेको छ ।
महँगा खाना र महँगा बस्ने कोठाहरूमा सबै तीर्थयात्री बस्न असक्षम हुन्छन् । शाकाहारी खाना मात्र चलाउन पाइने भनी सम्झौता भएको यात्री निवासमा अहिले मदिरा र माछामासु सबै चल्न थालेका छन् । त्यस कारण पनि शाकाहारी यात्रु यहाँ बस्न रुचाउँदैनन् र निराश भएर फर्कने गर्छन् ।
करिब २६ वर्षअघि जनकपुरधामस्थित दशरथ पोखरीको छेउमा भारतको बालाजी ट्रस्टले निर्माण गरेको उक्त अतिथि सदनको आम्दानीभन्दा खर्च अधिक हुन थालेपछि बृहत्तरका निवर्तमान कार्यकारी निर्देशक बलराम ठाकुरले व्यापारिक प्रयोजनका लागि निजी कम्पनीलाई होटल सञ्चालनका लागि दिएको बृहत्तरका कर्मचारी बताउँछन् । निवासलाई परिषद्ले १० वर्षसम्म आफैँ सञ्चालन गर्दा पनि मर्मतसम्भार खर्चसमेत उठ्न नसकेपछि बाध्य भएर लिजमा दिनु परेको कर्मचारीको भनाइ छ ।
यता परिषद्का अध्यक्ष शीतल साह भने यस्तो भन्नुहुन्छ, “यात्री निवास अब यात्री निवास रहेन, भारतीय पक्षसँग भएको सम्झौताविपरीत सञ्चालन भइरहेको छ । भारतको बालाजी ट्रस्टको उपहारमा परिषद्का विगतका कर्मचारी र पदाधिकारीले व्यापार गर्न थालेको र कम्पनीले पनि सम्झौताविपरीत होटल सञ्चालन गरिरहेको छ ।” परिषद्बाट पास नै नगरी निवर्तमान कार्यकारी अध्यक्ष बलराम ठाकुरले सम्झौता प्रव्रिmया अगाडि बढाउनु नै नियमविपरीत रहेको बताउँदै अध्यक्ष साहले सम्झौतामा नाम परिवर्तन गर्न नपाइने भनिए पनि नाम परिवर्तन र शाकाहारी खाना मात्र पाक्ने यात्री निवासमा सबै चल्न थालेपछि यात्री निवास अब यात्री निवास नरहेको उल्लेख गर्नुभयो ।
मटिहानी मठले परिषद्लाई लिजमा दिएको करिब २३ कट्ठा जमिनमध्ये १८ कट्ठा क्षेत्रफलमा २१ कोठे तीन तलाको भवन, एक सभा हल र पसलका सटरहरूसहित प्रालिले लिजमा लिएर पुनर्निर्माण गरी सौन्दर्यीकरणको काम सम्पन्नपछि होटल सञ्चालन गरेको हो । परिषद् सञ्चालक समितिका पूर्वसदस्य निर्मल चौधरीले कर्मचारीको भरमा सुविधायुक्त आवास गृह सञ्चालनमा निकै समस्या हुने बताउनुभयो । “प्रत्येक आठ घण्टा ड्युटी बदल्नु पर्दा समस्या हुने गथ्र्यो । विगतमा लिजमा लिनेहरूले पनि दीर्घकालीन रूपमा लगानी लगाउन सक्ने अवस्था थिएन,” उहाँले भन्नुभयो ।
अन्य धर्मशालाका परिप्रेक्ष्यमा उच्चस्तरीय र उचित दाममा पाइने यात्री निवासलाई मानिन्थ्यो । परिषद्ले सञ्चालन गर्दा पनि नियमित जसो निवासको ८० प्रतिशत भाग भरिभराउ नै हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अध्यक्ष र कार्यकारीको मेल नहुने, पदमा जो आयो उसकै मान्छेलाई निवास लिजमा दिने प्रवृत्ति र निवासलाई परिषद्ले व्यवस्थापन गर्न नसक्दा होटल बन्न पुगेको हो ।” जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठका अनुसार निवास लिजमा लिनेभन्दा दिनेले सोच्नुपर्ने हो । लगानी गरेर व्यापार गर्नेलाई उद्योग वाणिज्य सङ्घले प्रोत्सान नै गर्छ । त्यसैले लिजमा लिएर लगानीसमेत गरिसकेको होटल सञ्चालन गर्नेको कुनै गल्ती देखिँदैन ।
भारतको महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्य दूत नितिश कुमारको यात्री निवासबारे यस्तो भनाइ छ, “म भारत सरकारको प्रतिनिधि हुँ । भारत सरकारको लगानी भएको विषयमा केही बोल्न सक्छु । यात्री निवास भारतको एउटा ट्रस्टले बनाइदिएको धर्मशाला हो । त्यसैले यसबारे मैले आफ्नो राय दिन उचित नहोला ।”
भारतका तत्कालीन राष्ट्रपति डा. नीलम संजिला रेड्डीले नेपाल भ्रमणपछि पहल गरेर २०५४ सालमा यो निवास निर्माण भएको थियो । यो अहिले मिथिला यात्री निवास भनेर चिनिन थालेको छ । सञ्चालन भइरहेको उक्त होटलको सम्झौताबारे फोन सम्पर्क गरेर बुझ्न खोज्दा होटलका मेनेजर बिसन थापाले आफूलाई कुनै जानकारी नभएको बताउनुभयो ।