• ८ कात्तिक २०८१, बिहिबार

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने: प्रधानमन्त्री

blog

न्युयोर्क, असोज १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीहरूलाई मतदानको व्यवस्था गरिने बताउनुभएको छ । 

संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा सहभागी हुन आइतबार न्युयोर्क आउनुभएका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरूसँगको भेटमा यस्तो बताउनुभएको हो । उहाँले विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको जानकारी दिँदै कसैलाई पनि मतदानको अधिकारबाट वञ्चित हुन नदिने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तो सुकै कदम चाल्न पनि तयार रहेको बताउनुभयो । उहाँले सरकारले गरेका राम्रा र सकारात्मक कुराहरूलाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको बताउनुभयो । 

प्रधानमन्त्री दाहाल आजै न्युयोर्क आउनुभएको हो । उहाँलाई संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोग प्रतिनिधि लोकबहादुर थापाले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले आजै संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेसेससँग भेटवार्ता गर्नुभएको छ । 

महासभालाई सम्बोधन गर्नुअघि प्रधानमन्त्री प्रचण्डले अल्पविकसित राष्ट्रको अध्यक्षको हैसियतले विभिन्न साइडलाइन बैठकमा सहभागिता जनाउने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बर २१ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।