• १ जेठ २०८२, बिहिबार

सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्यामा कमी

blog

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, असोज १ गते । विगतका वर्षहरूको तुलनामा पछिल्लो वर्ष काभ्रेपलाञ्चोक जिल्लामा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा कमी आएको छ। स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको तथ्याङ्कमा आर्थिक वर्ष २०७९/८० मा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्यामा कमी आएको हो । 

कार्यालयका प्रमुख वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तमराज सेढाईंले पछिल्लो वर्ष काभ्रे जिल्लामा सुरक्षित गर्भपतन सेवा लिने महिलाको सङ्ख्या घटेको जानकारी दिनुभयो। उहाँले स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआइएस) मा दर्ता भएको तथ्याङ्क अनुसार आव २०७९/८० मा काभ्रेपलाञ्चोकमा कुल एक हजार ३१७ महिलाले सुरक्षित गर्भपतन सेवा लिएको बताउनुभयो । 

आव २०७६/७७ मा काभ्रेपलाञ्चोकमा एक हजार ९०१ जनाले सुरक्षित गर्भपतन सेवा लिएकोमा आव २०७८/७९ मा एक हजार ६१२ जनाले सुरक्षित गर्भपतनको सेवा लिएको तथ्याङ्कले देखाएको बताउनुभयो । आव २०७७/७८ को यससम्बन्धी तथ्याङ्क नरहेको सो कार्यालयले जनाएको छ । वरिष्ठ स्वास्थ्य प्रशासक डा. सेढाईंले अस्थायी तथा स्थायी साधनमा पहुँच बढ्नु तथा नागरिकमा सुरक्षित गर्भपतनको विषयमा चेतना बढेका कारण काभ्रे जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्यामा कमी आएको हुन सक्ने बताउनुभयो । 

सुरक्षित गर्भपतन सेवा लिनेमा २० वर्षभन्दा कम उमेर समूहका ५६ जनाले औषधी सेवन र दुई जनाले सर्जिकल (चिकित्सकीय) माध्यमबाट सेवा दिएको तथ्याङ्क छ। २० वर्षमाथि उमेर समूहका एक हजार ८१ जना महिलाले औषधीको माध्यमबाट र १७८ जनाले सर्जिकल (चिकित्सकीय) माध्यमबाट सुरक्षित गर्भपतन सेवा लिएका छन् । 

डा. सेढाईंका अनुसार काभ्रे जिल्लाको बनेपा नगरपालिकामा सबभन्दा बढी महिलाले गर्भपतन सेवा लिएका छन्। पछिल्लो वर्ष बनेपा नगरपालिकामा ६६६ जना, धुलिखेल नगरपालिकामा १८३ जना, पाँचखाल नगरपालिकामा १४१ जना, पनौती नगरपालिकामा १०९ जना, नमोबुद्ध नगरपालिकामा ९७ जना र मण्डनदेउपुर नगरपालिकामा ३७ जनाले सुरक्षित गर्भपतन सेवा लिएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै चौरीदेउराली गाउँपालिकामा २६ जना, भुम्लु गाउँपालिकामा छ जना, खानीखोला गाउँपालिकामा ४२ जना र रोशी गाउँपालिकामा दस जनाले सुरक्षित गर्भपतन सेवा लिएको तथ्याङ्क छ । 

सुरक्षित गर्भपतन सेवा लिएपछि स्वास्थ्यमा जटिलता उत्पन्न भई उपचार गराउने महिलाको सङ्ख्यासमेत घटेको देखाएको छ। आव २०७६/७७ मा गर्भपतनपछि ६० जनाले स्वास्थ्यमा जटिलता देखिएपछि उपचार गराएका थिए भने आव २०७८/७९ मा ३५ जना र आव २०७९/८० मा १७ जना महिलाले यस्तो उपचार गराएका थिए । 

सुरक्षित गर्भपतनसम्बन्धी सचेतना 

कार्यालयले जिल्लाको १३ वटा स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, सुरक्षित गर्भपतन सेवा प्रदान गर्ने सेवाप्रदायक संस्था र सुरक्षित गर्भपतन फोकल पर्सन (सम्पर्क व्यक्ति) लाई सुरक्षित गर्भपतनसम्बन्धी सचेतना प्रदान गरेको छ । कार्यालयले अनिच्छित गर्भ रोक्न, सुरक्षित गर्भपतन गर्ने स्थान, सुरक्षित गर्भपतन गराउने व्यक्ति र गर्भपतन गराउनका लागि चाहने व्यक्तिको सहमतिका विषयमा अपनाउनुपर्ने सावधानी, सुरक्षित गर्भपतनपछिको जोखिम, रोकथामको विषयमा जानकारी दिइएको थियो ।