• ८ कात्तिक २०८१, बिहिबार

एनआरएनएको अध्यक्षमा श्रेष्ठको उम्मेदवारी घोषणा

blog

एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै वर्तमान उपाध्यक्ष महेशकुमार श्रेष्ठ । तस्बिर : गोरखापत्र

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ३१ गते । विश्वभरिका गैरआवासीय नेपालीको साझा संस्था गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष महेशकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको छ । काठमाडौँमा आइतबार आयोजित समारोहमा उपाध्यक्ष श्रेष्ठले ११औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । 

काठमाडौँमा असोज ३० गतेदेखि (अक्टोबर १७) देखि सुरु हुने महाधिवेशनमा दुई वर्षे कार्यकालका लागि उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले ‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’को मुद्दा अघि सार्नुभएको छ । उहाँले पाँच वटा योजना पनि सार्वजनिक गर्नुभएको छ । उहाँले विश्वभरिका प्रवासी नेपालीलाई एकताबद्ध बनाउने बताउनुभयो । 

श्रेष्ठले सबल, साझा र एकताबद्ध तथा परिणाममुखी, पारदर्शी र समावेशी एनआरएनए बनाउने आफ्नो उद्देश्य रहेको बताउनुभयो । उहाँले सङ्घलाई योजनाबद्ध रूपमा अघि बढाउने बताउँदै नेपालमा वैदेशिक लगानी भित्र्याउने, गैरआवासीय नेपालीको पुँजीलाई जन्मभूमिको विकासका लागि योगदान गर्ने उद्देश्यले सुरु गरिएको १० अर्ब रुपियाँको सामूहिक लगानी कोष कार्यान्वयन गर्ने योजना रहेको जानकारी दिनुभयो । 

अध्यक्षका उम्मेदवार श्रेष्ठले नेपालको अर्थतन्त्र बलियो बनाउन दीर्घकालीन योजना बनाउने र सन् २०३० सम्म नेपालको अर्थतन्त्र १०० अर्ब डलरको बनाउन नेपाल सरकार र निजी क्षेत्रसँग सहकार्य गर्ने बताउनुभयो । 

कार्यक्रममा श्रेष्ठसँगै महासचिव डा. केशव पौडेलले उपाध्यक्ष पदमा र एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष बुद्धि सुवेदीले महासचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।