• १२ फागुन २०८०, शनिबार

गाँस, बास र कपासको समस्या समाधान हुने छ

blog

मध्यबिन्दु नगरपालिका नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएको ऐतिहासिक महेन्द्र राजमार्गको ठिक मध्यभागमा पर्छ। यसको अवस्थिति अनुसार नाम रहेको छ। साबिक कोल्हुवा, नारायणी र तम्सरिया गाविस समेटेर नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयबाट २०७२ असोज १ गते मध्यबिन्दु नगरपालिका स्थापना भएको हो। स्थानीय तह पुनर्संरचना आयोगको सिफारिस अनुसार साबिकका मैनाघाट, नयाँ बेलहानी, प्रसौनी र राकाचुली गाविससमेत समेटेर २०७३ फागुन २७ गते नेपालको संविधान, २०७२ अनुसार मध्यबिन्दु नगरपालिका बनेको हो। मध्यबिन्दु नगरपालिकामा २०७९ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का भीमलाल अधिकारी निर्वाचित हुनुभएको छ। मध्यबिन्दु नगरपालिकाको विकास गर्न उहाँ तल्लीन हुनुहुन्छ। विकासप्रेमी नेताका रूपमा अधिकारी परिचित हुनुहुन्छ। गोरखापत्रका पत्रकार मीना कँडेलले नगर प्रमुख अधिकारीसँग गर्नुभएको कुराकानी : 


शिक्षण पेसाबाट राजनीतिमा आउनुभयो, जनप्रतिनिधि भएर काम गर्दा कस्तो अनुभव गर्नुभएको छ ? 

शिक्षा र राजनीति दुवै समाजप्रति जवाफदेही पेसा हो। शिक्षा पेसा निश्चित समुदाय र उमेरका मानिसलाई गर्ने सेवा भएकाले राजनीतिभन्दा कम जिम्मेवारी थियो। जनप्रतिनिधि हुँदा अहिले नगरभित्रका सबै क्षेत्र र सबै वर्गका समस्या र जिम्मेवारीमा जवाफदेही हुनु परेको छ। जनतालाई गरेका प्रतिबद्धता पुरा गर्नुपर्ने, आफूले भनेका सबै काम तत्कालै गर्न नसक्ने अवस्था हुँदो रहेछ। शिक्षण पेसामा भन्दा जनप्रतिनिधिको जिम्मेवारीको दायरा बढेको अनुभव गरेको छु। नगरवासीको इच्छा र चाहना अनुसार अगाडि बढ्ने कोसिस गरेको छु। 

नगरपालिकाको नेतृत्व गरेको एक वर्ष उपलब्धिमूलक भयो ? 

समृद्ध नगर निर्माणका लागि यहाँको जनजीविका, भौगोलिक विकटता, आर्थिक तथा सामाजिक सामथ्र्यलाई अध्ययन गरेर योजना तर्जुमा गरेका छौँ। नगरवासीलाई गाँस, बास र कपासबाट वञ्चित हुन नपरोस् भनेर पहिलो प्राथमिकतामा राखेर काम गरेका छौँ। आधारभूत आवश्यकता पछि स्वास्थ्य र शिक्षाको क्षेत्रमा सुधार गरेका छौँ। ज्येष्ठ नागरिकलाई घर घरमा पुगेर स्वास्थ्य जाँच गरेका छौँ । नगरको आवश्यकता अनुसारको नगर अस्पताल सञ्चालनमा ल्याएका छौँ। 

कृषि क्षेत्रको उत्पादन बढाउन र त्यसको बजारीकरणका लागि कृषि उपकरण प्रदान गरेका छौँ। पूर्वाधार विकासमा टुक्रे योजना कम गरेर ठुला योजनालाई जनताले अनुभव गर्ने गरी काम गरेका छौँ। नगरलाई सफा र सुन्दर बनाउन फोहोरलाई मोहोरमा परिणत गर्न प्राङ्गारिक मल बनाउने काम अगाडि बढेको छ। फोहोर बिक्री गरेबापत नगरवासीले नगद प्राप्त गर्ने अवस्था छ। नदीजन्य पदार्थको दोहन र चोरी निकासी रोकेर नगरको आन्तरिक आम्दानी बढाउने र व्यवस्थित रूपमा नदीजन्य पदार्थको प्रयोग गर्ने गरी कार्यविधि तयार पारेका छौँ। नगरपालिकालाई आफ्नै आर्थिक स्रोतले सञ्चालन गर्न सक्ने गरेर आन्तरिक आम्दानी बढाउनेतर्फ लागेका छौँ। 

मध्यबिन्दु नगरपालिकामा भूमिहीन सुकुमवासी र नारायणी नदीको कटान मुख्य समस्याका रूपमा छन्। बाढी नियन्त्रण र भूमिहीनको क्षेत्रमा कस्तो योजना बनाउनुभएको छ ? 

हाम्रो नगरमा करिब ४० प्रतिशत नागरिक अव्यवस्थित बसोबास र सुकुमवासी क्षेत्रमा छन्। नागरिकलाई जग्गाको धनी बनाउन अहिले नाप नक्सा भइरहेको छ। आगामी दुई वर्षभित्रमा भूमिहीन र अव्यवस्थित बसोबासीको हातहातमा जग्गाधनी लालपुर्जा हात पर्ने छ। विपन्न वर्गलाई आवास र जीविकोपार्जनका लगि पनि काम गरेका छौँ। मध्यबिन्दु नगरपालिका यो क्षेत्रको ठूला खोला अरुण र गिरुबारी बिचमा छ। दक्षिणमा नारायणी खोला छ भने खहरे खोलाका कारण बाढी र कटानको समस्या छ। नदीलाई च्यानलाइज गर्ने र कटान रोक्न तटबन्धको काम भइरहेको छ। स्थानीय तहले मात्र यो समस्या समाधान गर्न सक्ने अवस्था छैन। हामीले प्रदेश र सङ्घमार्फत समन्वय गरेर नदी नियन्त्रणको काम भइरहेको छ। स्रोतको अभावले कतिपय काम अगाडि बढाउन नसक्ने अवस्था छ। 

गुणस्तरीय शिक्षा प्रदानका लागि नगरको शैक्षिक रणनीति र योजना बनाउनुभएको छ ? 

आर्थिक कारणले कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपर्ने गरी काम भइरहेको छ। गुणस्तरीय शिक्षा भन्ने बित्तिकै नम्बर मात्र बढी ल्याउनेभन्दा पनि व्यक्तिको आनीबानी, रहनसहन र संस्कारलाई अवलम्बन गर्ने गरी ‘खुसी पाठ्यक्रम’ निर्माण गरेका छौँ। शिक्षाको क्षेत्रमा मुलुकभरमा नै नमुना बन्ने गरी बालबालिका, अभिभावक, शिक्षक र सरोकारवाला सबैको अपनत्व हुने गरी काम गरेका छौँ । शिक्षामा नवीनतम् विचारको प्रयोग गरेर शिक्षामार्फत जीवनमा खुसी कसरी हुने भन्ने व्यावहारिक ज्ञान दिने गरी अगाडि बढेका छौँ । 

नगरमा सुशासन कायम राख्न कानुन निर्माण के कति गर्नुभएको छ ? 

हामी आएपछि एक वर्षमा पाँच वटा ऐन र करिब १५ वटा कार्यविधि पास गरेका छौँ। फोहोर मैला व्यवस्थापन, बजार अनुगमन, विद्यालय क्षेत्रको वरपर धूमपान, मध्यपान बिक्री वितरणमा रोक, सार्वजनिक कार्यक्रममा खादा, मालाको प्रयोग निषेध र नगरको खेलकुद क्षेत्रलाई व्यवस्थित गर्न ऐन र कार्यविधि निर्माण भएको छ। यसले नगरभित्र रहेका समस्या र विवादलाई नियन्त्रण गर्न सहयोग गरेको छ। 

समृद्ध नगर निर्माणका लागि चुनौती अनुभव गर्नुभएको छ ? 

नगरको मुख्य आम्दानीको स्रोत सम्पत्ति र व्यावसायिक कर निकै न्यून छ। प्राकृतिक स्रोत नदीजन्य पदार्थको उत्खननबाट आउने राजस्व पनि घटेको अवस्था छ। कोरोना कहर, आर्थिक मन्दीको असर स्थानीय सरकारमा पनि परेको छ। सङ्घको बजेट पनि घटेर आउँदा कतिपय पास भएका योजना पनि अगाडि बढाउन नसक्ने अवस्था छ। हामीसँग समृद्ध नगरको परिकल्पना छ। आर्थिक स्रोतको अभावमा भने अनुसार काम गर्न सकिएको छैन। मुलुकमा आर्थिक वृद्धिदर र नगरको आन्तरिक आम्दानी बढ्दै गयो भने आगामी चार वर्षमा नगर समृद्ध बन्ने छ। 

अबको चार वर्षमा मध्यबिन्दु कस्तो बन्छ ? 

आगामी चार वर्षमा नागरिकको गाँस, बास र कपासको समस्या समाधान हुने छ। घर घरमा स्वास्थ्य जाँच र सुविधासम्पन्न नगर अस्पतालको सेवा विस्तार हुने छ। नयाँ ‘खुसी पाठ्यक्रम’ ले गुणस्तरीय शिक्षामा उल्लेख्य प्रगति हुनेछ। यो पाठ्यक्रमले सहज मानवीय जीवन जिउने कलाको विकास हुनेछ। सफा, सुन्दर नगरपालिका, सुशासनयुक्त समाज र डिजिटल नगरपालिकाका रूपमा नगरको पहिचान हुनेछ। कृषि क्षेत्रमा उत्पादनसँगै बजारीकरणको व्यवस्था हुने छ।