• २ जेठ २०८२, शुक्रबार

बाल बन्दीद्वारा आन्दोलन फिर्ता

blog

दीपकप्रसाद गौतम 

वीरगन्ज, भदौ २८ गते । वीरगन्ज महानगरपालिका–४, बिर्तामा रहेको बाल सुधारगृहका कैदीबन्दी बालकहरू मङ्गलबार रातिदेखि गरिरहेको प्रदर्शन रोकेर वार्तामा बसेका छन् । पर्साका प्रमुख जिल्ला अधिकारीले माग सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाएपछि वार्ता सफल भई स्थिति नियन्त्रणमा आएको छ । 

प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी, पर्साका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक कोमलविक्रम शाह, बाल कल्याणगृह वीरगन्जकी प्रमुख सावित्री भण्डारी, सञ्चारकर्मी र अधिकारकर्मीको उपस्थितिमा कैदीबन्दी बालकहरू वार्तामा बसेका थिए । वार्ता सफल भएपछि सुधारगृहबाहिर आएका बाल कैदीबन्दी सुधारगृहभित्र प्रवेश गरेका छन् । गत भदौ ८ मा भक्तपुर बाल सुधारगृहबाट स्थानान्तरण गरी ल्याइएका १८ जना कैदी बालक वीरगन्जस्थित बाल सुधारगृहमा आएसँगै आन्तरिक विवाद सुरु भएको थियो । वीरगन्जस्थित सुधारगृहका नाइकेसँग भक्तपुर बाल सुधारगृहबाट स्थानान्तरण गरी ल्याइएका बालकहरूले मङ्गलबार बेलुका विवाद गरी नाइकेलाई कुटपिट गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । कुल १३१ जना बालक कैदीबन्दी रहेको वीरगन्जस्थित सुधारगृहमा करिब एक महिनाअघि भक्तपुर बाल सुधारगृहमा विवाद गरेपछि त्यहाँबाट ल्याइएका १८ जनासहित अहिले १४९ जना बाल कैदीबन्दी छन् । 

मङ्गलबार राति ८ बजेदेखि सुरु भएको विरोध झन्डै १९ घण्टापछि नियन्त्रणमा आएको सुधारगृहका प्रमुख टीकाकृष्ण काफ्लेले जानकारी दिनुभयो । बाल कैदीहरूले रातिदेखि गृहका प्रमुख काफ्लेलाई पनि भित्रै थुनेर राखेकाले बुधबार बिहान मात्रै प्रहरीले उद्धार गरेको थियो । वार्ता सफल भएर स्थिति सामान्य भएपछि सुरक्षाका लागि खटाइएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई पनि फिर्ता बोलाइएको पर्साका प्रहरी प्रमुख शाहले बताउनुभयो । कैदीबन्दी बालकहरूले वार्तामा तीन साताअघि भक्तपुरको सुधारगृहबाट आएकामध्ये केहीलाई अन्यत्र पठाउन, कानुनले उपलब्ध गराएका सम्पूर्ण सुविधाको ग्यारेन्टी गर्न, खानाको मात्रा पर्याप्त र गुणस्तरीय बनाउन, बस्ने कोठाको राम्रो व्यवस्था गर्न, सुरक्षाका लागि खटिएका प्रहरीबाट कुनै किसिमको बल प्रयोग नगर्न, निःशुल्क औषधी उपचारको व्यवस्थापन गर्न, पठनपाठनको व्यवस्थापन गर्न, बिजुली र सफा खानेपानीको व्यवस्थापन गर्नलगायत माग अगाडि सारेको सुधारगृहका प्रमुख काफ्लेले जानकारी दिनुभयो । 

उहाँका अनुसार बाल कैदीहरूले उठाएका माग सम्बोधन गर्न पर्साका प्रजिअ रेग्मीले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफूले प्रत्येक महिनाको २७ गते सुधारगृह अनुगमन गर्ने र अनुगमन गर्दा बाल कैदीलाई आफ्ना गुनासाहरू राख्नसमेत आग्रह गर्नुभयो । क्षतिको विस्तृत विवरण नआए पनि विरोधका क्रममा झन्डै एक करोड रुपियाँ बराबरको क्षति भएको उहाँले बताउनुभयो । सुधारगृहभित्रका विभिन्न पर्खाल, ढोका, झ्याल, ग्रिल, खानेपानीको ट्याङ्की, चापाकल, भान्साका सामान, बाल कैदीहरू सुत्ने खाट, बेड, बिछ्यौनालगायतमा क्षति पुगेको र क्षतिको तथ्याङ्क सङ्कलन भइनसकेकाले अनुमानित रूपमा एक करोडभन्दा बढीको क्षति भएको उहाँले बताउनुभयो । 

विवादपछि भएको झडपमा ११ जना घाइते बालकैदीलाई मङ्गलबार राति नारायणी अस्पतालमा उपचार गराई जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो । प्रहरीका अनुसार बाल कैदीहरूले हानेको इँटा लागेर प्रहरीतर्फ तीन जना घाइते भएका थिए भने प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्याससमेत प्रहार गरेको थियो ।