• २ जेठ २०८२, शुक्रबार

विद्यालयलाई रेडक्रसको सहयोग

blog

बर्दीबास समाचारदाता

बर्दीबास, भदौ २८ गते । नेपाल रेडक्रस सोसाइटी बर्दीबास उपशाखाले सामुदायिक विद्यालयलाई खेल तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । बर्दीबास उपशाखाले स्थानीय शुभेच्छुक एवं सहयोगीबाट प्राप्त करिब दुई लाख रुपियाँ बराबरका सामग्री बर्दीबास–९, पशुपतिनगरस्थित जनमुखी आधारभूत विद्यालयलाई मङ्गलबार हस्तान्तरण गरेको हो । उक्त अवसरमा रेडक्रसले विद्यालयमा दन्त परीक्षण शिविरसमेत सञ्चालन गरेको थियो । 

सामुदायिक विद्यालय रूपान्तरण अभियान अन्तर्गत उक्त विद्यालयलाई शैक्षिक एवं खेल सामग्री, दिवा खाजाका लागि आवश्यक ५२५ थान भाँडा सेट, सिलिन्डरसहितको ग्यास चुलो, फूलका बिरुवासहितका गमलालगायतका सामग्री हस्तान्तरण गरेको रेडक्रस बर्दीबास उपशाखाका अध्यक्ष सुदीप कार्कीले जनाउनुभयो । 

रेडक्रसको ‘सामुदायिक विद्यालय रूपान्तरण अभियान’ मा बोल्दै नगरप्रमुख प्रह्लाद क्षेत्रीले नगर क्षेत्रमा रहेका विद्यालयको भौतिक एवं शैक्षिक विकासलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । नगरपालिकाले पहुँचका भरमा नभई आवश्यकताका आधारमा बजेट बाँडफाँट गर्ने नीति अवलम्बन गरेको दाबी गर्दै उहाँले यसै नीति अन्तर्गत गत आवमा यस विद्यालयले एक लाख सहयोग माग्दा त्यतिले नपुग्ने देखेर नगरपालिकाले साढे दुई लाख रुपियाँ निकासा दिएको बताउनुभयो । 

सामाजिक अभियन्ता एवं पत्रकार राजकरण महतोले शिक्षित जनशक्ति नै विकासको मेरुदण्ड भएकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने धारणा राख्नुभयो । नगरपालिकाले स्टिलका थालसमेत सहयोग गरेकाले कागजको प्लेटमा दिवा खाजा खानुपर्ने बाध्यता टरेर गएको विद्यार्थीले जनाएका छन् । सामग्री हस्तान्तरणलगत्तै रेडक्रसका स्वास्थ्य टोलीले उपस्थित विद्यार्थीको दन्त परीक्षण गरेको थियो । कार्यक्रममा सञ्चारकर्मीसमेत १२ जनाले विद्यालय परिसरमा रक्तदान गर्नुभएको थियो ।