सिन्धुपाल्चोक समाचारदाता
सिन्धुपाल्चोक, भदौ २६ गते । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले पूर्ण ध्वस्त बनाएको सिन्धुपाल्चोक सदरमुकाम चौतारामा रहेको ११५ वर्षअघि बनेको कृष्ण मन्दिर पुनर्निर्माण भएको छ । भूकम्पले भत्काएपछि यो मन्दिर जस्तापाताले छाएको टहरामा थियो । पुरातत्त्व विभागको दुई करोड रुपियाँ लगानीमा कृष्ण मन्दिर पुनर्निर्माण सम्पन्न भएको हो । मन्दिर प्यागोडा शैलीमा पुनर्निर्माण भएको छ । पुरातात्त्विक महत्त्वको यो मन्दिर निर्माणमा परम्परागत सामग्रीकै प्रयोग गरिएको छ भने पुरानै शैलीमा निर्माण गरिएको छ ।
तीनतले यो मन्दिरको बिच तलामा श्रीकृष्णको मूर्ति प्रतिस्थापन गरिएको छ । मन्दिरको भुइँतलामा पुस्तकालय स्थापना गरिने भएको छ । अरनिको राजमार्ग खुल्नुअघि तिब्बतसँग व्यापार गर्ने क्रममा काठमाडौँ उपत्यकाबाट आउने नेवार समुदाय यहीँ बसोबास गर्ने गरेको भनाइ छ । यही ठाउँलाई उपत्यका–तिब्बतको भोट ओहोरदोहोर गर्दै शीतल ताप्ने चौतारी बनाइएको थियो । चौताराका नेवार समुदायका अग्रज स्व. भक्तध्वज प्रधानको अगुवाइमा यही स्थानमा मन्दिर पुनर्निर्माण गरिएको थियो ।
विसं १९६४ मा निर्माण भएको उक्त मन्दिर जात्रा सञ्चालनका लागि गुठी रहेको र हरेक श्रीकृष्ण जन्माष्टमीमा जात्रा, मेला लगाउने परम्परा रहेको छ । श्रीकृष्ण जन्माष्टमीमा श्रीकृष्णको प्रतिमालाई रथमा राखेर बाजागाजासहित लाखेनाच प्रदर्शन गरी बजार परिक्रमा गरिन्छ । प्रारम्भमा प्रदर्शन हुने गरेका महाकालीनाच, घिन्ताङ घिसीनाच अहिले रोकिएका छन् । यी नाचलाई निरन्तरता दिन लागिरहेको मन्दिर पुनर्निर्माण अभियन्ता कमलचरण कक्षपतिले जानकारी दिनुभयो । नेवार समुदायको सांस्कृतिक बाजागाजा ल्याएर बजाउने र नाच्ने तालिम दिएर पुनः सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । श्रीकृष्ण जन्माष्टमीका दिन मनाइने गाईजात्रामा यो मन्दिरको भित्तामा लेखेर राजनीतिक, सामाजिक विसङ्गतिविरुद्ध व्यङ्ग्य गर्ने परम्परा चल्दै आएको छ ।
यसअघि पनि मन्दिरमा पुस्तकालय राखिएको थियो । विसं २००४ मा मन्दिरमा बालबालिका जम्मा गरेर शैक्षिक गतिविधि गरिने गरेको स्थानीयले बताएका छन् । पछि सदरमुकाममा श्रीकृष्ण रत्नगङ्गा माध्यमिक विद्यालय स्थापना गरिएको थियो ।