• १ जेठ २०८२, बिहिबार

दुई महिनापछि बस्यो प्रदेश सभाको बैठक

blog

राममणि दाहाल

हेटौँडा, भदौ २५ गते । बागमती प्रदेशको प्रदेश सभा बैठक दुई महिनापछि बसेको छ । भदौ १८ गतेका लागि तय भएको बैठक नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रदेश सभाबाट पारित गर्ने क्रममा भएको सहमति कार्यान्वयन नभएसम्म बैठक चल्न नदिने बताएपछि बैठक सञ्चालन हुन सकेको थिएन । 

प्रदेश सभाको बैठक लगातारको छलफलपछि पनि सञ्चालन हुन नसकेपछि प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आइतबार बिहान सर्वदलीय बैठक राख्नुभएको थियो । सर्वदलीय बैठकपछि बैठक सञ्चालन गर्ने सहमति जुटेको हो । 

भदौ १८ गते बोलाइएको बैठक सहमति जुटेपछि सूचना टाँस गरेर सारिएकोमा पुनः भदौ २० गतेका लागि तय गरिएको बैठकसमेत बस्न सहमति नजुटेपछि आइतबार बैठक बस्ने गरी अर्को सूचना भदौ १९ गते टाँस गरेर सारिएको थियो । 

चार विधेयक पेस

प्रदेश सरकारले प्रदेश सभामा चार वटा विधेयक पेस गरेको छ । प्रदेशका सामाजिक विकासमन्त्रीको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामा तामाङले विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न विधेयक, स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र कृषि तथा पशुपन्छी विकासमन्त्रीको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री तामाङले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० प्रदेश सभामा पेस गर्नुभएको छ । 

उक्त विधेयकमाथि प्रदेश सभाको बैठकमा सैद्धान्तिक छलफल भएको छ । विधेयकमाथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाफ प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तान, स्वास्थ्यमन्त्री उत्तम जोशी, आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठ र कृषि तथा पशुपन्छी विकासमन्त्री डा. राजेन्द्रमान श्रेष्ठले दिनुभएको थियो । 

शून्य समयमा नागरिकका समस्या उठान

दुई महिनापछि आइतबार बसेको प्रदेश सभाको बैठकको शून्य समयमा प्रदेश सभाका सदस्यले समसामयिक विषयवस्तु र समस्या उठाउनुभएको थियो । प्रदेश सभा सदस्य उद्धव थापाले देशमा अहिले गौवंश हत्याको कुरा उठेको र सामाजिक सञ्जालमा राख्दासमेत सरकार उदासीन भएको भन्दै यसले सामाजिक सद्भाव खलबलिने भएकाले कसले राखेको हो तत्काल पहिचान गरी कारबाही अगाडि बढाउन माग गर्नुभयो । 

प्रदेश सभाका सदस्य उर्मिला कुमारीले ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा विगत ४० वर्षदेखि गएको पहिरोले पाँच सय रोपनी जग्गा कटान, र एक सय घर जोखिममा परेकाले स्थानीय त्रासपूर्ण जीवन बिताउन बाध्य भएको भन्दै पहिरो नियन्त्रण गर्न माग गर्नुभयो । यस्तै प्रदेश सभाका सदस्य केशवप्रसाद पोखरेलले काठमाडौँ निर्वाचन क्षेत्र नं. ९ (२) मा पहिरोले घर धरापमा परेकाले निरीक्षण गरी समस्या समाधान गर्न माग गर्नुभयो ।

प्रदेश सभाका सदस्य डा. दिनेशचन्द्र देवकोटाले साउन ७ गते सार्वजनिक भएको मौद्रिक नीति आर्थिक नीतिसँग तालमेल खाने अवस्था नरहेको भन्दै बागमती प्रदेशमा विशेष आर्थिक अवस्थालाई दृष्टिगत गरी विशेष कार्यक्रम ल्याउन माग गर्नुभएको थियो । प्रदेश सभाका सदस्य मातृकाप्रसाद भट्टराईले सिन्धुली जिल्लामा सुनकोशीलगायतका नदीले कटान गरेकाले समस्या समाधान गर्न माग गर्नुभयो । प्रदेश सभाका सदस्य माया श्रेष्ठले भरतपुर महानगर–२८ का आशबहादुर बोटेको साउन ८ गते बाघको आक्रमणबाट मृत्यु भएकाले क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभयो । 

प्रदेश सभा सदस्य रामेश्वर श्रेष्ठले ललितपुरमा सामुदायिक वन अतिक्रमणमा परेकोमा ध्यानाकर्षण गराउँदै महालक्ष्मी नगरपालिकाका विभिन्न वडामा पानीको समस्या रहेकाले समस्या समाधान गर्नुपर्ने बताउनुभयो । साथै प्रदेश सभा सदस्यद्वय मायादेवी शर्मा र बालकुमारी विश्वकर्माले धादिङका शिवकुमार कार्की हराइरहेकाले खोजी गर्न र घटनाको सत्यतथ्य पत्ता लगाउन माग गर्नुभयो । प्रदेश सभाका सदस्य वसन्तप्रसाद मानन्धरले विशेष र शून्य समयमा उठेका प्रश्नको जवाफ कहिले आउने र कार्यान्वयन कहिले गर्ने भनेर प्रश्न गर्नुभयो । प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाईले ६२ दिनसम्म सरकार हराएको र सरकारले मन्त्रालय फुटाएकोमा आपत्ति जनाउनुभयो । 

प्रदेश सभाका सदस्य सिर्जना सायजूले पेट्रोलियम पदार्थको मूल्य वृद्धिले सर्वसाधारण मारमा परेकाले मूल्य फिर्ता लिन र आयल निगममा हुने अनियमितताको छानबिन गर्न माग गर्नुभयो । प्रदेश सभाका सदस्य गीता काफ्लेले ‘लम्पी स्किन’ महामारीले किसानका गाईबस्तु मरेकाले क्षतिपूर्ति दिन माग गर्नुभयो ।

शोक प्रस्ताव पारित 

बागमती प्रदेश सभाका पूर्वसदस्य डा. राजाराम कार्कीको निधनप्रति प्रदेश सभाको बैठकले शोक प्रस्ताव पारित गरेको छ । नेपाली कांग्रेसबाट २०७४ को निर्वाचनबाट निर्वाचित कार्कीको ६६ वर्षको उमेरमा क्यान्सर रोग उपचारका क्रममा भदौ ६ गते निधन भएको थियो । साथै कार्कीको आत्माको चिरशान्तिको कामना गर्दै सभामुख, उपसभामुख, प्रदेश सभाका सदस्यसहितले एक मिनट मौनधारण गर्नुभएको थियो । 

प्रदेश सभाको अर्को बैठक भदौ २९ गते शुक्रबार १२ः३० बजे बस्ने भएको छ ।