रेखीराम राना
पाल्पा, भदौ २३ गते । जिल्लाको विभिन्न स्थानमा औद्योगिक ग्राम निर्माणको काममा ढिलो भएको छ । तानसेन र रामपुर नगरपालिकामा औद्योगिक ग्राम निर्माणमा ढिलो भएको छ भने माथागढी र रिब्दीकोटमा औद्योगिक ग्राम निर्माणको काम सुरु नै भएको छैन ।
तानसेन नगरपालिकाले चार वर्षअघिदेखि सुरु गरेको औद्योगिक ग्राम निर्माणको कामलाई तीव्रता दिन सकेको छैन । आर्थिक वर्ष २०७७/०७८ मा नेपाल सरकारबाट औद्योगिक ग्राम निर्माणका लागि ९२ लाख रुपियाँ बजेट प्राप्त भएपछि तानसेन नगरपालिकाले डिपिआरको काम अघि बढाएको थियो । डिपिआर पहिलो वर्ष नै बनेर सोही वर्षदेखि निर्माणको काम समेत अघि बढाएको तानसेनले रकम अभाव देखाउँदै ग्राम निर्माणमा ढिलाइ गरिरहेको छ ।
नगरपालिकाले चार वर्षअघि तानसेन–७, कुनसरेमा औद्योगिक ग्राम निर्माणको काम अगाडि बढाएको अहिलेसम्म पहिलो वर्षको कामलाई सिध्याउन सकेको छैन । औद्योगिक ग्राम निर्माणको काम भए पनि कछुवा गतिमा भएको स्थानीय बासिन्दा बताउँछन् । औद्योगिक ग्राम बनाउन भन्दै रुख कटानका काम तीव्र गतिमा भयो तर रुख काटेपछि ग्राम निर्माणको काम कछुवा गतिमा भएको स्थानीय बासिन्दा रोमबहादुर रानाले बताउनुभयो । उहाँले भन्नुभयो, “औद्योगिक ग्रामको काम गर्न सुरु गरेको चार वर्ष भयो तर अहिलेसम्म तीन वर्षअघि सुरु गरेको काम सकिएको छैन ।”
औद्योगिक ग्राम निर्माणको जिम्मा लिएको वसन्त निर्माण सेवाले अहिलेसम्म काम पूरा नगरेको नगरपालिकाले जनाएको छ । औद्योगिक ग्राम स्थलमा टेवा पर्खाल, जग्गा सम्याउने काम तथा वाल लगाउने काम अझै नसकिएको तानसेन नगरपालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उक्त कम्पनीसँग २०७८ साउन १ गते एक वर्षभित्र काम सक्ने गरी सम्झौता भए पनि ठेकेदारले अहिलेसम्म काम नसकेको उहाँले बताउनुभयो ।
औद्योगिक ग्राम निर्माणको काम रकम अभावले पनि ढिलाइ भएको तानसेन नगरपालिकाले जनाएको छ । तानसेन नगरपालिकाले सात करोड रुपियाँभन्दा बढीको औद्योगिक ग्राम निर्माण गर्ने विस्तृत योजना बनाएको छ तर उक्त योजना सम्पन्न गर्न सङ्घीय सरकारबाट पर्याप्त बजेट नआउँदा योजनाको काममा ढिलाइ भएको नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “औद्योगिक ग्राम बनाउन तानसेन नगरपालिकासँग पैसा छैन, सङ्घीय सरकारबाट कम रकम आउँदा यसको काममा ढिलाइ भएको हो ।”
तानसेन नगरपालिकाको मात्र होइन, रामपुर नगरपालिकाको औद्योगिक ग्राम निर्माणमा समेत ढिलाइ भएको छ । रकम अभावका कारण यहाँको नगरपालिकाले औद्योगिक ग्राम निर्माणमा ढिलाइ गरेको जनाएको छ ।
जिल्लाको माथागढी र रिब्दीकोट गाउँपालिकाले औद्योगिक ग्राम निर्माणका लागि जग्गाको व्यवस्थापन गरिसकेका छन् । यद्यपि रकम अभावले औद्योगिक ग्राम निर्माण सुरु हुन नसकेको माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले बताउनुभयो ।