पर्सा समाचारदाता
पर्सा, भदौ २३ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जीवनरक्षामा औषधी व्यवसायीहरूको भूमिका र योगदान सराहनीय रहेको बताउनुभएको छ । उहाँले कोभिड महामारीको समयमा पनि आफ्नो स्वास्थ्य र जीवनको परवाह नगरी राष्ट्र, समाज र सर्वसाधारणको जीवनरक्षाका लागि अहोरात्र खटेर औषधी व्यवसायीले राष्ट्र र समाजका लागि अनुकरणीय काम गरेको बताउनुभयो ।
औषधी व्यवसायी सङ्घको १४ औँ राष्ट्रिय अधिवेशन तथा स्वर्ण जयन्तीको शुक्रबार वीरगन्जमा उद्घाटन गर्नुहुँदै उहाँले भन्नुभयो, “वीरगन्ज औषधी व्यवसायीहरूका लागि लाइफ लाइनका रूपमा रहेको छ, औषधीको उत्पादनदेखि आयातसम्मको कामलाई तीव्रता दिएर आर्थिक रूपले मुलुकलाई समृद्ध बनाउने ठाउँ हो यो ।” औषधी व्यवसायीले सर्वसाधारण नेपाली नागरिकको जीवनरक्षा तथा स्वास्थ्य उपचारमा सहभागी भएर सुगमदेखि दुर्गम हिमाल, पहाड, तराई मधेशसम्म सेवा प्रवाह गरेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।
उपराष्ट्रपति यादवले संविधानमा आधारभूत स्वास्थ्य उपचारबाट कोही पनि वञ्चित हुन नपाउने उल्लेख गरिएकाले सर्वसाधारणको स्वास्थ्य उपचार र जीवनरक्षाप्रति सबैको सहयोग र सचेतना आजको आवश्यकता रहेको बताउनुभयो । औषधी व्यवसायी सङ्घका अध्यक्ष मृगेन्द्रमेहरको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा मधेश प्रदेशका वन तथा वातावरणमन्त्री रमेश पटेल, उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अन्सारी, प्रदेश सभा सदस्य श्याम पटेल र प्रमोद जयसवाललगायतको उपस्थिति थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।