• १२ साउन २०८१, शनिबार

यो वर्षलाई शिक्षाको वर्षका रूपमा मनाउँदै छौँ

blog

रामेछाप जिल्लाका आठ स्थानीय तहमध्ये खाँडादेवी गाउँपालिका एक हो । साबिकका राकाथुम, मझुवा, भिरपानी, पकरबास, माकादुम, गागल भदौरे र पिङखुरी गाविस मिलाएर यो गाउँपालिका बनाइएको हो । स्थानीय तहको दोस्रो निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट खाँडादेवी गाउँपालिकाको अध्यक्षमा ज्ञानकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । गाउँपालिकाको अध्यक्षको जिम्मेवारी सम्हालेको करिब १५ महिनामा भएका काम र भावी योजनाबारे अध्यक्ष श्रेष्ठसँग गोरखापत्रका नवराज श्रेष्ठले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । 


तपाईंले नेतृत्व सम्हालेपछि गाउँपालिकाको विकासमा कस्ता काम अगाडि बढेका छन् ? निर्वाचनमा जनतामाझ गरेका प्रतिबद्धता पूरा हुने गरी काम भएको छ कि छैन ?

हाम्रो पाँच वर्ष कार्यकाल हुने भए पनि प्रतिबद्धता हाम्रो कार्यकालको तीन वर्षभित्रै पूरा गर्ने उद्देश्यका साथ काम गरिरहेका छौँ । सोही अनुसार भटौली खोलामा बाँध बाँधेर गाउँपालिकाको वडा नं. ३, ४, ५ र ६ मा सिँचाइ सुविधा पु¥याउने सोचका साथ काम अगाडि बढाइएको छ । यसका लागि यो वर्ष दुई करोड रुपियाँ विनियोजन गरिएकोमा एक करोड रुपियाँमा आकासे  पानी सङ्कलन गर्न सुक्खा क्षेत्रका वन, सार्वजनिक जमिनमा एक सयभन्दा बढी सुक्खा पोखरी बनाउने योजना छ । यो वर्षलाई शिक्षाको वर्षका रूपमा अति सीमान्तकृत समुदायका विद्यार्थीका लागि आवासीय विद्यालय सञ्चालन गरिँदै छ । स्थानीय सरकारको आफ्नै स्रोतको अभावका कारणले, सङ्घ र प्रदेशबाट प्राप्त हुने रकम पनि विशेष अनुदान, समपूरक भनेर नियन्त्रण गर्दा समस्या छ । गाउँपालिकामा सडक पूर्वाधार विकास राम्रै भएको छ । सबै घरमा बिजुली बलेको छ । नौ वटा वडामा १३ वटा स्वास्थ्य एकाइ सञ्चालनमा छन् । सामुदायिक विद्यालयलाई थप व्यवस्थापन गरिँदै लगिएको छ । 


शिक्षा वर्षका रूपमा मनाउने घोषणा गर्नुभएको छ । के कस्ता कार्यव्रmम र योजना बनेका छन् ?

शिक्षाको क्षेत्रमा देखिने गरी परिवर्तन गर्ने सोचका साथ काम गर्न यो वर्षलाई शिक्षा वर्षका रूपमा लिएका हौँ । यसका लागि गाउँपालिकाले कक्षा ६ देखि ८ सम्मका विद्यार्थीका लागि डे बोडर्स सञ्चालन गरेको छ । राज्यको नियम अनुसार कक्षा ८ सम्म पढाइ भइरहेका विद्यालयमा कम्तीमा चार जना विषयगत शिक्षकको व्यवस्थापन गर्ने गरी विषयगत शिक्षक राख्न सूचना प्रकाशन गरिएको छ । कक्षा ८ देखिमाथि पढाइ हुने विद्यालयका प्रधानाध्यापक स्थानीय भए पनि आवासीय रूपमा विद्यालयमै बस्नुपर्ने व्यवस्था गरिएको छ । विद्यार्थीको सङ्ख्या घट्दो छ, गाउँमा जन्मदर घट्दो दरमा छ, बसाइँसराइ बढ्दो छ । यो कुरालाई ध्यानमा राखेर गाउँपालिकाले गत वर्षदेखि नै बहुकक्षा, बहुस्तर कार्यव्रmम सञ्चालन गरेको छ । अहिले छ वटा विद्यालयमा सञ्चालनमा रहेको यो कार्यव्रmम प्रभावकारी देखिएकाले यो वर्षबाट नै १४ वटा विद्यालयमा सञ्चालन गर्ने योजना छ । 


सुन्दर, सभ्य र समृद्ध  खाँडादेवी भन्ने नाराले कत्तिको सार्थकता पाएको छ नि ?

सुन्दर, सभ्य र समृद्ध  खाँडादेवी भन्ने नारालाई सार्थक बनाउन निर्माण भएका कार्ययोजना अनुसार यहाँका जनप्रतिनिधि र कर्मचारी लागिपरेका छन् । गाउँपालिका प्राकृतिक स्रोतका हिसाबले सम्पन्न नभए पनि यो गाउँपालिका आफैँमा सुन्दर गाउँपालिका हो । ऐतिहासिक खाँडादेवी मन्दिर, दुई हजार मिटरभन्दा अग्लो अग्लेश्वरी डाँडा, सुलिथुम्का, नर्वदेश्वर महादेव, विश्वामित्र गुफा यहीँ छन् । महाकाली स्थान, सुनकोशी, तामाकोशी र भटौली खोला पनि यहाँ रहेको छ । आर्थिक, सामाजिक रूपान्तरण गरी समृद्धिको यात्रामा गाउँपालिका केन्द्रित भइरहेको छ ।


गाउँपालिकावासीको आर्थिक, सामाजिक विकासका लागि के कस्ता कार्यव्रmम अगाडि बढेका छन् ? 

आर्थिक र सामाजिक क्षेत्रको रूपान्तरणको सन्दर्भमा ग्रामीण जनताको आम्दानीको सम्भावना भएको कृषि तथा पशुपन्छी नै हो । भौगर्भिक बनावट, हावापानी आदिलाई लिएर गर्न सक्ने र गर्नुपर्ने काम गरिरहेका छौँ । कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको छ । कृषिमा यान्त्रिकीकरण, मकै पकेट क्षेत्रको घोषणा, व्यावसायिक बाख्रापालन, फलफूलको सघन उत्पादन हुने क्षेत्रको पहिचान गरी लगानी भइरहेको छ । विशेष गरी आर्थिक रूपले कमजोर महिलाले परम्परागत रूपमा गरिरहेका बाख्रापालनलाई खोर सुधार, नस्ल सुधार गर्ने र व्यावसायिक बाख्रापालन गर्न किसानलाई प्रोत्साहन गर्ने अभियानमा छौँ ।  सुक्खा ठाउँको पहिचान गरी रिचार्ज पोखरी निर्माण, आकासे पानी सङ्कलन कार्य अगाडि बढाइएको छ । सामाजिक रूपान्तरणका लागि सबभन्दा पहिला चेतनामा रूपान्तरण, सामाजिक सुरक्षा र सुशासन कायमसँगै न्यायिक निरूपण गर्नुपर्ने हुन्छ ।


गाउँपालिकाको आर्थिक र सामाजिक क्षेत्रको विकासमा के कस्ता चुनौती छन् ?

यहाँ पूर्वाधारमा धेरै काम गर्न बाँकी छ । निजी आकाङ्क्षाले गर्दा समाजलाई आर्थिक रूपमा सबल बनाउन र सामाजिक रूपमा सुदृढ बनाउन कठिनाइ भइरहेको छ । एकै पटक एउटै वर्ष आएका सबै समस्याको सम्बोधन गर्नका लागि आउने जनदबाबले ससाना योजना विशेष गरी ५० प्रतिशत बजेट मर्मतसम्भारमै खर्च गर्नुपर्ने अवस्था छ । आर्थिक रूपमा प्रभाव पर्ने ठुला परियोजना सञ्चालन गर्न कठिन भइरहेको छ । 

सङ्घ र प्रदेश सरकारसँग गाउँपालिकाको समन्वय कस्तो छ ?

सङ्घ र प्रदेशसँग गाउँपालिकाको सम्बन्ध नङ र मासुको जस्तो छ भन्न सक्ने अवस्था छैन । राजस्व परिचालन, आर्थिक वृद्धि, आफूले बनाएको बजेट पूर्ण रूपमा कार्यान्वयन नहुँदा सङ्घीय सरकार आफैँ सङ्कटमा छ । प्रदेश सरकारले पनि राजस्व बाँडफाँटबाट प्राप्त हुनुपर्ने रकम पूरै प्राप्त गर्न सकेको छैन । मूलतः आर्थिक रूपमा आत्मनिर्भर बनाउने योजना तथा कार्यव्रmम सङ्घ र प्रदेश सरकारसँग माग गरिएको थियो । हामीले माग गरे अनुसार सम्बोधन हुन सकेन । खाँडादेवी गाउँपालिकाको सपनालाई सङ्घ र प्रदेश सरकारले आत्मसात् गर्न सकेन ।