• १३ साउन २०८१, आइतबार

बङ्गुरको नश्ल सुधार गर्दै शिवराज नगरपालिका

blog

शिवराज नगरपालिकाले प्रजनन बीउका लागि अनुदानमा दिएको उन्नत नश्लको बङगुर । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, भदौ २२ गते । कपिलवस्तुको शिवराज नगरपालिकाले बङ्गुरको नश्ल सुधार गर्ने भएको छ । पालिकाका बङ्गुरपालक कृषकको उत्पादन वृद्धि गर्न पशु विकास शाखाले उन्नत जातको पाठापाठी वितरण गरेको छ । 

गत आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा २२ जना कृषकलाई पाठापाठी वितरण गरेको कार्यालयले जनाएको छ । राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराबाट ल्याण्डरेस, योर्कशायर, ड्युुरोक जातका बङ्गुरका पाठापाठी प्रजनन बीउका लागि उपलब्ध गराएको नगरपालिकाका पशु विकास शाखाका प्रमुख धनेश्वर खनालले बताउनुभयो । 

प्रतिजिउ ५ हजारको दरले पाठापाठी खरिद गरिएको छ । २२ जना उत्कृष्ट किसान छनोटगरी वितरण गरिएको थियो । कृषकका मागका आधारमा पाठापाठी वितरण गरिएको शाखाले जनाएको छ । 

पालिकाले कृषकलाई स्याहार सुसार गर्न तालिम प्रदान गरेको छ । प्रजनन बीउका पाठापाठीलाई रोग लागेमा उपचार गर्न प्राविधिक समेत खटाइएको छ । प्रजननका लागि उन्नत पाठापाठी सहयोगले कृषकले आफ्नै फर्ममा प्रजनन गराउन सक्ने वडा  ३ भितरीयाका सूर्य थारुले बताउनुभयो । 

स्थानीयस्तरका पाठापाठी खरिद गर्दा प्रजाति थाहा नहुँदा वृद्धि विकास कम हुने बताइएको छ । सोही वडा मदवाका कृषक लालवहादुर घर्तीले सरकारी प्रजनन केन्द्रबाट खरिद भएकाले गुणस्तरमा सुनिश्चित्ता भएको बताउनुभयो । 

केही कृषकले अनुदानमा खरिद भएका बङ्गुर ढिलो हुर्किएको गुनासो गरेका छन् । उन्नत जात पालन गर्दा आहारा, सरसफाईजस्ता पक्षमा ध्यान नदिँदा समस्या हुन सक्ने पालिकाले जनाएको छ । कृषकको फर्ममा अनुगमन गरी समस्या समाधान गरिने शाखा प्रमुख खनालले बताउनुभयो । उत्पादन बिक्री गर्न सहज भएपछि कपिलवस्तुमा बङ्गुर पालन गर्नेहरु बढेका छन् । 

टोल टोलमा साप्ताहिक कृषि हाटवजार खुल्न लागेपछि मासु बिक्री सहज बनेको स्थानीय कृषकको भनाइ छ । जसलेगर्दा व्यापारीहरु बङ्गुर खरिद गर्न कृषकको घरमै आउनेगरेको कृषकहरु बताउँछन् ।