• १३ साउन २०८१, आइतबार

पर्यटन प्रवर्द्धन सक्रिय ताप्लेजुङका स्थानीय तह

blog

फुङ्लिङ, भदौ १९ गते । जिल्लामा रहेका पर्यटकीय सम्पदाहरूको विकास गरी धेरैभन्दा धेरै पर्यटक भित्र्याउँदै आन्तरिक आम्दानीको स्रोत बढाउने उद्देश्यले ताप्लेजुङका स्थानीय तहरुहरुले विभिन्न कार्यक्रमहरू कार्यान्वयनमा जोड दिएका छन् । धार्मिक पर्यटन, साहसिक पर्यटन, हिमाल आरोहणमा जोड दिँदै एक नगरपालिका र आठ गाउँपालिका रहेको यस जिल्लाका स्थानीय तहरुहरुले नयाँ पर्यटकीय क्षेत्रहरूको पहिचान गर्नेदेखि पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको पाइन्छ ।

फक्ताङलुङ गाउँपालिकाले कञ्चनजङ्घा क्षेत्रमा आउने पर्यटकहरूको लागि गाउँपालिकामा पर्यटन भित्र्याउनका लागि पहिलो सडक विस्तार तथा पदमार्ग निर्माणमा जोड दिएको छ । यस गाउँपालिकामा विश्वको अग्लो कञ्चनजङ्घा र कुम्भकर्ण (फक्ताङलुङ) हिमाल छ भने सिङ्जेमा ताल, करिब चार सय वर्ष पुरानो दिकी छ्योलिङ गुम्बा, मानभारालगायत थुप्रै पर्यटकीय स्थल पर्दछन् ।

उच्च हिमाली क्षेत्रहरूमा अक्सिजनको व्यवस्थापन, ओलाङचुङगोला बस्ती नजिकै रहेको सिङ्जेमा तालमा जाने पदमार्ग र सार्वजनिक शौचालय निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापक गरिएको पालिकाका अध्यक्ष राजन लिम्बूले बताउनुभयो । उहाँका अनुसार दुई छिमेकी मुलुक चीन र भारतलाई जोड्ने रणनीतिक तथा व्यापारिक महत्वको निर्माणाधीन तमोर कोरिडोरको ट्याक खोल्ने काम अन्तिम चरणमा पुगेको छ भने कञ्चनजङ्घा हिमाल प्रवेशद्वार फक्ताङलुङ गाउँपालिका-घुस्सा बस्तीसम्म मोटरबाटो विस्तार गर्ने कार्यक्रम छ । 

मध्यपहाडी भूभाग हुँदै भारतको जोगबनीलाई चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोड्नेछ । तमोर कोरिडोरमार्फत यसै आर्थिक वर्षका भारत, नेपाल र चीन सडक सञ्जालले जोड्नेछ । पर्यटकीय क्षेत्रहरूको सहज जानकारी उपलब्ध गराउनका लागि पर्यटन सूचना केन्द्र स्थापना गरिने भएको छ । चीनसँग कोरिडोरले जोडिएसँगै फक्ताङलुङ गाउँपालिका मात्र नभएर जिल्लामै ठुलो पर्यटकहरू चहलपहल हुने ताप्लेजुङवासीले अपेक्षा गरेका छन् ।

जिल्लाकै एक मुख्य पर्यटकीय सम्पदाले भरिपूर्ण रहेको मिक्वाखोला गाउँपालिकामा अविरल झरिरहने फुङ्फुङ्गे झर्ना जिल्लाकै एक पर्यटकीय गन्तव्यभित्र पर्दछ । अर्को पालिका केन्द्रदेखि नजिकै रहेका वाक्मा पोखरी पनि यस क्षेत्रको पयटकीय क्षेत्रमा पर्दछ । गाउँपालिका केन्द्र नजिकै रहेको पोखरीहरूको राजधानी भनिने लोदेन क्षेत्र यसै गाउँपालिकामा पर्दछ । समुद्र सतहदेखि चार हजारदेखि माथि रहेको यस क्षेत्रमा लामपोखरी, कुइने पोखरी, हाँसपोखरी, सुनपोखरी, भूतपोखरीलगायत एक सयभन्दा बढी पोखरी छन् । यस क्षेत्रमा पोखरीहरूको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरू पुग्ने गरेको स्थानीयवासी तेन्जिङ शेर्पा बताउनुहुन्छ ।

त्यस्तै समुद्र सतहदेखि चार हजार एक सय मिटर उचाइमा अवस्थित तोक्पेगाला क्षेत्र अर्को प्रमुख पर्यटकीय गन्तव्यमा पर्दछ । तोक्पेगोलामा बस्तीको दायाँ मनमोहक झर्ना छ भने बायाँतिर जोङलुङ गुम्बा र धार्मिक महत्त्व बोकेको भूत पोखरी रहेको छ । बस्तीमाथि सोदु पोखरीलगायत दर्जनौँ पोखरीहरू छन् ।

मिक्वाखोला गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्नका लागि समुन्द्र सतददेखि चार हजारमाथि रहेको लोदन क्षेत्रमा गोठस्टेका लागि सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको गाउँपालिकाका उपाध्यक्ष डण्डु लामाले बताउनुभयो । त्यस्तै धार्मिक पर्यटन प्रवर्द्धन गर्नका लागि लिम्बू समुदायको माङहिम निर्माण गर्न पनि बजेट विनियोजन गरिएको छ । उहाँका अनुसार गाउँपालिका केन्द्र नजिकै रहेको फुङ्फुङगे झर्ना शृङ्गार गर्न लागि सङ्घीय सरकारबाट एक करोड बजेट विनियोजन भएको छ ।

सिदिङवा गाउँपालिकाको-७ मा अवस्थित देशकै प्रसिद्ध तिम्बुङ पोखरी धार्मिक तथा अन्य पर्यटकको गन्तव्यस्थल हो । यहाँको ढङ्ढङगे झर्ना, चमेरे गुफा, काबेली माङहिम र सिदिङवाधाम पनि पर्यटकीय आकर्षणका स्थलहरू हुन् । गाउँपालिकाले चालु आर्थिक वर्षमा पर्यटन प्रवर्द्धन गर्नका लागि २६ लाख बजेट विनियोजन गरेको गाउँपालिकाका निमिक्त प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद बेघाले जानकारी दिनुभयो ।

मैवाखोला गाउँपालिकाले बृहत् पर्यटन प्रवर्द्धन गुरुयोजना तयार गरी पर्यटकीय क्षेत्रहरूको विकास र प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखेको छ । ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल ओसाङलु पनि मैवाखोला गाउँपालिकाको एक पर्यटकीय गन्तव्यभित्र पर्दछ ।

यस क्षेत्रमा प्रमुख पर्यटकीय क्षेत्रहरूमा गुराँसको राजधानी तीनजुरे मिल्के पर्दछ । तीनजुरे मिल्के तेर्थुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाको सङ्गमस्थल पनि हो । यस क्षेत्रमा चैत वैशाखमा महिनामा गुराँस फुल्ने गर्दछ । गुराँस फुल्ने समयमा गुराँसको अवलोकन गर्ने आउने पर्यटकहरूको चहलपहल बढी हुने गर्दछ । मैवाखोला गाउँपालिकाले यस क्षेत्रमा गुराँस पार्क निर्माण गर्नका लागि गुरुयोजना बनाउनका लागि चालु आर्थिक वर्षमा १८ लाख रुपियाँ बजेट विनियोजन गरेको मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले बताउनुभयो ।

जिल्लाको सदरमुकाम रहेको फुङ्लिङ नगरपालिका भएर नै अधिकांश पर्यटकहरू जिल्लाका अन्य  पर्यटकीय क्षेत्रहरूमा घुम्न जाने गर्दछन् । विश्वप्रसिद्ध धार्मिक स्थल पाथीभरा फुङ्लिङ नगरपालिकाको मात्र नभएर जिल्लाकै प्रमुख धार्मिक स्थल हो । पाथीभरा मन्दिरमा दैनिक रूपमा देश विदेशदेखि दर्शन गर्न हजारौँको सङ्ख्यामा आउने गर्दछ ।

सदरमुकाम नजिकै रहेको सिद्धि डाँडासमेत आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । शिवालय मन्दिर र पोखरी रहेको सिद्धि डाँडामा विभिन्न संरचना निर्माण र प्रचारप्रसार हुन थालेपछि यहाँ आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढ्न थालेको छ । सुकेटार विमानस्थल नजिकै रहेको सन लाइट भ्यु पाइन्ट (सूर्योदय) फुङ्लिङ नगरपालिकाको एक पर्यटकीय गन्तव्य बनेको छ । फुङ्लिङ नगरपालिकाले पर्यटन प्रवर्धन समिति बनाएर फुङ्लिङ नगरपालिकाभित्रको पर्यटकीय क्षेत्रहरूको गुरुयोजना बनाउने तयारीमा रहेको नगर प्रमुख अमिर मादेनले बताउनुभयो ।

सिदिङवा गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य कञ्चनजङ्घा हिमाल नै हो । यस हिमालको आधार शिविरसम्म सडक पुर्‍याउन ट्याक खोल्ने काम भइरहेको सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष डा.चित्र माबोले बताउनुभयो । कञ्चनजङ्घा हिमालको अवलोकन गर्न जाने पर्यटकलाई लक्षित गरेको गाउँपालिकाले होमस्टे प्रवर्द्धन कार्यक्रम गर्ने गाउँपालिकाले जनाएको छ ।

सिरिजङ्गा गाउँपालिका-६ मामांखे गाउँमा रहेको लिम्बू सङ्ग्रहालय पनि एक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै लैजाने गाउँपालिकाले जनाएको छ । लिम्बूका अनुसार सिरिजङ्गा गाउँपालिकामा मुन्धमी लाम मुन्धमी पदमार्ग निर्माण गर्ने योजनामा छ । लिम्बू समुदायको मुन्धुम र राई जातिको पुरानो धार्मिक ग्रन्थ र लोकसाहित्य हो । पदमार्गमा आउने विभिन्न संरचना तथा सामग्रीहरू प्रस्तुत गर्नेगरी गुरुयोजना बनाउने गाउँपालिकाले जनाएको छ ।

मेरिङदेन गाउँपालिकाको प्रमुख पयटकीय स्थलहरूमा गुराँसे पोखरी, मेरिङदेन झर्ना पर्दछ । र्‍याप्टिङका लागि दोभान उपयुक्त क्षेत्र मानिन्छ । त्यस्तै आन्तरिक पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले मेरिङदेन चौतारी पार्क निर्माण गरेको मेरिङदेन गाउँपालिकाका अध्यक्ष युकवीर हांग (डम्बर) ले बताउनुभयो । त्यस्तै धार्मिक पर्यटकीय क्षेत्रहरूमा माहाछिरुङ माङगेना एक साथै विभिन्न गुम्बा यस गाउँपालिकाका पर्यटकीय क्षेत्रहरू पर्दछन् ।

पर्यटन प्रवर्द्धन गर्नका लागि गाउँपालिकाले चालु आवमा मेरिङदेन झर्ना जाने पदमार्गका लागि १५ लाख रुपियाँ कोशी प्रदेश सरकारबाट बजेट विनियोजन भएको गाउँपालिकाले जनाएको छ । गुराँसे पोखरीको सौन्दर्यका लागि गाउँपालिकाले केही रकम विनियोजन गरेको मेरिङदेन गाउँपालिका अध्यक्ष हांगामले बताउनुभयो । त्यस्तै धार्मिक पर्यटन प्रवर्द्धन र मेरिङदेन चौतारी पार्क निर्माण गर्नका लागि पनि बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

सदरमुकाम फुङ्लिङ बजारदेखि नजिकै रहेको गाउँपालिका केन्द्र पाथीभरा याङवरकमा धार्मिक महत्त्व बोकेका धार्मिक पर्यटकीय स्थलहरू छन् । यस गाउँपालिकामा रहेका धार्मिक महत्त्वको पर्यटकीय क्षेत्रहरू केसामी नाम्सनी, थाप पोखरी, धर्ती भाटा तथा गुरुङ गुम्बाहरू पर्दछन् । गुम्बा निर्माण गर्न केही गोरेटो बाटो मर्मतका लागि  गाउँपालिकाले बजेट विनियोजन गरेको गाउँपालिका उपाध्यक्ष रनमाया गुरुङले बताउनुभयो । रासस