• ३० वैशाख २०८२, मङ्गलबार

मातृत्व र पितृत्व ठेगान नभएकालाई नागरिकता

blog

तम्घास समाचारदाता 

तम्घास, भदौ १९ गते । गुल्मीमा मातृत्व र पितृत्व ठेगान नभएका ६३ वर्षीय पुरुषलाई नागरिकता प्रदान गरिएको छ । हालसम्म मातृत्व र पितृत्व ठेगान नभएका रेसुङ्गा नगरपालिका–९ को चारीखोलामा बस्दै आउनुभएका ६३ वर्षीय बलबहादुर नेपालीलाई जिल्ला प्रशासन कार्यालय गुल्मीले नागरिकता प्रदान गरेको छ । 

वडाको सिफारिस र स्थानीयको आग्रहका आधारमा स्थानीयलाई साक्षी बसेको आधारमा नेपालीलाई नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत नरेश गिरीले जानकारी दिनुभयो । लामो समयदेखि चारीखोलामा पार्वती नेपालीको संरक्षणमा बस्दै आउनुभएका बलबहादुरलाई पार्वती संरक्षक कायम गरी नागरिकता प्रदान गरिएको गिरीले बताउनुभयो । रेसुङ्गा नगरपालिका–९ का वडाध्यक्ष कृष्णप्रसाद पाण्डेले राम्रोसँग बोल्न र खुट्टाले टेक्न नसक्ने बलबहादुरले नागरिकता प्राप्त गरेसँगै सामाजिक सुरक्षा भत्ताका लागि तत्कालै काम अगाडि बढाउने जानकारी दिनुभयो । 

पछिल्लो समय जिल्ला प्रशासन कार्यालय गुल्मीले अपाङ्गता भएका र जिल्ला प्रशासन कार्यालयमा नागरिकता प्राप्त गर्न आउन नसक्नेका लागि घरमै गएर पनि नागरिकता प्रदान गर्दै आएको छ । सरकारको अनुभूति प्रदान गर्नका लागि घरमै गएर नागरिकता प्रदान गर्ने गरेको र त्यस्ता समस्या भएकालाई आगामी दिनमा पनि घरमै गएर सेवा प्रवाह गर्ने गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो ।