रेखीराम राना
पाल्पा, भदौ १९ गते । जब असार लाग्छ, पाल्पामा वृक्षरोपण गर्ने होडबाजी चल्छ । विभिन्न सङ्घसंस्था, समूह तथा सरकारी निकाय असार लागेपछि भदौ महिनासम्म विभिन्न जातका बिरुवा रोप्छन् । यसरी रोपिएका लाखौँ बिरुवाको अवस्थाबारे भने कसैलाई अत्तोपत्तो हुँदैन ।
विभिन्न व्यक्ति, समूह, सङ्घ संस्थाले सार्वजनिक, सरकारी तथा निजी जग्गामा रोपेका बिरुवा दुई महिनापछि नै हराउने गरेका छन् । संरक्षणको स्पष्ट आधारबिना जथाभाबी रोपिएका लाखौँ बिरुवा केही महिनापछि गायब हुन्छन् । रोप्ने व्यक्ति र संस्थालाई समेत त्यसको जानकारी हुँदैन ।
संरक्षण र हुर्काउने योजनाबिना हचुवामा रोपिएका हजारौँ बिरुवाको अवस्थाबारे सरकारी निकायलाई समेत जानकारी छैन । तानसेन–६, बारुदखानका अनन्त पन्थीले हरेक वर्ष बिरुवा रोप्ने गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “असारमा बिरुवा रोप्ने होडबाजी चल्छ तर रोपेपछि ती बिरुवाको अवस्था कस्तो छ, कसैलाई जानकारी हुँदैन । अहिलेसम्म कसैले पनि बिरुवा हुर्काएको भनेर सुन्नमा आएको छैन ।”
जथाभाबी बिरुवा रोप्ने प्रचलनले राज्य र सङ्घ संस्थाको करोडौँ लगानी खेर गइरहेको उहाँले बताउनुभयो । निश्चित मापदण्ड बनाएर बिरुवा हुर्काउने गरी अनुदान दिनुपर्ने उहाँको धारणा छ । बिरुवा रोप्ने, फोटो खिच्ने र सामाजिक सञ्जालमा पोस्ट गर्ने प्रवृत्तिले करोडौँको लगानी खेर जाने अवस्था आएको छ । बिरुवा रोप्न करोडौँको लगानी भए पनि बिरुवा रोपेपछि हुर्काउन कसैको ध्यान नपुग्दा लगानी खेर गइरहेको छ । वन उपभोक्ता महासङ्घ पाल्पाका पूर्वअध्यक्ष निरञ्जन भुसालले बिरुवा रोप्न भनेर विभिन्न निकायले बिरुवाका लागि करोडौँ खर्च गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक वर्ष बिरुवाका लागि करोड रुपियाँ खर्च हुन्छ तर जथाभाबी बिरुवा रोप्दा लगानी खेर गइरहेको छ ।”
डिभिजन वन कार्यालयले भने बिरुवा माग गर्ने व्यक्ति, समूहसँग रेकर्ड लिएर बिरुवा वितरणको काम भइरहेको जनाएको छ । वन कार्यालयका रेन्जर यमलाल पोखरेलले बिरुवा रोपिएको स्पष्ट आधार र प्रमाणसमेत वन कार्यालयले राख्ने गरेको बताउनुभयो । बिरुवाका लागि डिभिजन वन कार्यालय, सब डिभिजन वन कार्यालयहरू, कृषि, भेटेरिनरी, सुन्तला जात तथा फलफूल विकास केन्द्रले लगानी गरिरहेका छन् । पाल्पाका दुई नगरपालिका, आठ गाउँपालिका, वन समूह, महिला समूह, लायन्स क्लबहरू, युवा क्लब, राजनीतिक दल, भ्रातृ संस्थालगायतले विभिन्न जातका बिरुवाका लागि करोडौँ रुपियाँ लगानी गरेका छन् ।