• १२ साउन २०८१, शनिबार

काठमाडौंलाई ट्रान्जिट बनाएर निगमले भैरहवाबाट बैंग्लोर उडान गर्ने

blog

काठमाडौं, भदौ १५ गते । नेपाल वायुसेवा निगमले अब भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि काठमाडौंलाई ट्रान्जिट बनाएर भारतको बैंग्लोर उडान गर्ने भएको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार यसअघि काठमाडौं ट्रान्जिट बनाएर भारतको दिल्ली र हङकङ उडान गर्दै आएकोमा बैंग्लोर पनि थप भएको हो ।

भदौ १२ गतेदेखि भैरहवाबाट काठमाडौं ट्रान्जिट बनाएर हङकङ र दिल्ली उडान गर्दै आएको छ । अब सोही रुटबाट भारतको बैंग्लोर पनि थप भएको पौडेलको भनाइ छ ।

जसका लागि निगमले भैरहवाबाट नै बैंग्लोरसम्मको टिकट पनि खुलाएको छ  । नयाँ उडान तालिकाअनुसार हरेक मङ्गलबार बिहान ८ः१५ बजे भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ ।

सो जहाजमा आएका यात्रुहरु हङकङ जाने भए सोही दिनको ११ बजेको उडानमा हङकङ पठाइनेछ । दिल्ली जाने यात्रुलाई १ः२५ बजेको उडानमा दिल्ली पठाइने प्रवक्ता पोडेलले बताउनुभयो ।

यस्तै, १ः२५ मिनेटकै अर्को उडानमा बैंग्लोरका लागि उडान गरिनेछ । एयरलाइन्सले यात्रु चेकिङकै क्रममा गन्तव्यसम्मकै बोर्डिङ पास उपलब्ध गराउने र यात्रुहरुको लगेज सिधै गन्तव्य मुलुकमै पुग्नेछ ।

यात्रुहरुले नेपाल वायुसेवा निगमको वेवसाइट वा ट्राभल एजेन्सीबाट टिकट काट्न सकिने पौडेलले बताउनुभयो ।