• ३० वैशाख २०८२, मङ्गलबार

खोरमै आएर खान्छ बाघले बाख्रा

blog

गोकर्ण पौडेल 

तुलसीपुर भदौ १५ गते । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दाङ जिल्लाको बबई गाउँपालिका क्षेत्रमा पटक पटक बाघले गोठमै आएर बाख्रा मार्ने गरेको छ। पछिल्लो पटक मङ्गलबार बाघले बबई गाउँपालिका–२, जहरेबास ट्वाङखोलामा १३ वटा बाख्रा मारेको छ। बबई गाउँपालिका वडा नं. २, जहरेबास ट्वाङखोलाका छविलाल खत्रीका १३ वटा बाख्रा जङ्गलमा चराउन गएको समयमा बाघले मारेको हो। 

खत्रीले भदौ १२ गते स्थानीय सुवाखोरे सामुदायिक वन क्षेत्रमा चरनका लागि लग्नुभएको थियो। बबई गाउँपालिका–२ का पूर्ववडाध्यक्ष चिन्तामणि शर्माले बाघले मारेका १३ वटा बाख्रामध्ये नौ वटा मरेको अवस्थामा फेला परेको र बाँकी चार वटा फेला नपरेको बताउनुभयो। 

बबई गाउँपालिका–५, बबरपुरमा डेढ वर्षअघि मेनका खत्रीका पाँच वटा बाख्रा बाघले गोठमा बाँधेको अवस्थामा मारेको थियो। त्यस्तै बबरपुरकै देवबहादुर वलीका १० वटा बाख्रा खोरभित्रै बाघले मारिदिएको थियो। 

छविलाल खत्रीले दुई वर्षदेखि टीकादेवी बाख्रा फर्म दर्ता गरेर  बाख्रापालन गर्दै आउनुभएको छ। एकै पटक १३ वटा बाख्रा बाघले मारिदिँदा तीन लाखभन्दा बढी घाटा भएको खत्रीले बताउनुभयो। गोठकै बाख्रा बाघले मारिदिँदा क्षतिपूर्तिका लागि निकुञ्ज डिभिजन वन कार्यालयमा निवेदन दिँदासमेत क्षतिको राहत प्राप्त नगरेको किसान देवबहादुर वलीले बताउनुभयो। 

बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्रीले निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने वडामा बाघले बाख्रा मारेको अवस्थामा क्षतिपूर्तिको व्यवस्थाका लागि पालिकाबाट समन्वय भइरहेको बताउनुभयो। उहाँले सामुदायिक वन क्षेत्रमा पहिलो पटक बाघले बाख्रा मारेको हुँदा क्षतिपूर्तिका लागि डिभिजन वन कार्यालयसँग समन्वयन भइरहेको बताउनुभयो।