• २० असोज २०८१, आइतबार

दलित समुदायद्वारा पुरोहितबाट सामुहिक जनै धारण

blog

दलित समुदायले गरेको सामुहिक रक्षाबन्धन कार्यक्रम । तस्विर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, भदौ १४ गते । यहाँका दलित समुदायले आफ्नै पुरोहितबाट सामुहिक रक्षाबन्धन तथा जनै धारण गरेका छन् । समाजमा जातीय विभेद कायमै रहेकाले त्यसको अन्त्यका लागि आफ्नै पुरोहितबाट सामुहिक रक्षा बन्धन तथा जनै धारणा कार्यक्रम गरिएको दलित अगुवाहरुले बताएका छन् । 

जातीय विभेद छिचोल्न जनै धारणसहित जनै पूर्णिमाका अवसरमा बिहीबार वैदिक विधिअनुसार रुद्री पाठ र ऋषितर्पणी पाठगरी जनै धारणसहित सामुहिक रक्षाबन्धन गरिएको अभियानकर्ता पूर्ण विकेले बताउनुभयो । 

वैदिक कर्मकाण्ड अङ्गाल्दै आएका तनहुँका दलित पुरोहितहरुले जनै पूर्णिमाको दिन आज  स्वयंले जनै धारणसहित सामुहिक रक्षाबन्धनको कार्यक्रम गरेको बताएका छन् । वैदिक सनातन कर्मकाण्ड व्यास दलित पुरोहित समाज तनहुँमा आवद्ध दलित पुरोहितले व्यास नगरपालिका ३ व्यास गुफा परिसरमा सामुहिक रक्षाबन्धन गरेका थिए ।

रक्षाबन्धन कार्यमा पूर्ण विश्वकर्मा घिमिरे, विश्ववुढा परियार, माधवबहादुर विश्वकर्मा र सूर्यबहादुर परियारलगायतका दलित समुदायका पुरोहितहरु खटिनुभएको थियो । समाजद्वारा व्यास नगरपालिका ३ अनसन चौतारीमा खुला रक्षाबन्धन कार्यक्रम आयोजना गरेको थियो ।  

दलित समुदायका पुरोहितहरु संगठित भई वैदिक ज्ञान प्रसारमा लाग्नु सकारात्मक भएको वैदिक पुरोहित समाज तनहुँका अध्यक्ष तुलसीराम पौडेलले बताउनुभयो । वेदले जातीय विभेद नगरेकाले सबै जात समान भएको पौडेलले बताउनुभयो ।