• २० असोज २०८१, आइतबार

बुटवलमा परम्परागत सांस्कृतिक गाईजात्रा

blog

बुटवल १ नारायणपथमा निकालिएको गाईजात्रा । तस्विर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, भदौ १४ गते । रुपन्देहीको बुटवलमा परम्परागत सांस्कृतिक गाईजात्रा मनाइएको छ । बुटवल उपमहानगरपालिका –१ मा गाईजात्रा निकालिएको हो ।

फरक फरक नाममा गाईजात्रा प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने गरिन्छ । एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने गरिन्छ ।

बुटवल –१ मा गत साल दिवंगत हुनुभएकी सेतीलक्ष्मी श्रेष्ठलगायतको सम्झनामा गाइजात्रा (सापारु) निकालिएको नेवा पुच बुटवलका अध्यक्ष काजिमान श्रेष्ठले बताउनुभयो ।

सो अबसरमा बुटवल नगरप्रमुख खेलराज पाण्डेयले ‘गाईजात्रा’ सांस्कृतिक पर्वलाई सबैले सम्मान गर्नुपर्ने धारणा राख्नुभयो । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीत पनि गाइन्छ ।

यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाइ वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आदेश दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक मान्यता छ ।