• ३० वैशाख २०८२, मङ्गलबार

ज्येष्ठनागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा

blog

राप्ती गाउँपालिकाद्वारा बिरामी निःशुल्क बोक्नका लागि सञ्चालन गरिएको एम्बुलेन्स । तस्बिर : लीलाधर वली

लीलाधर वली

घोराही, भदौ १४ गते । दाङको राप्ती गाउँपालिकाले ज्येष्ठनागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । निःशुल्क रूपमा एम्बुलेन्स सञ्चालन हुने भएपछि राप्ती गाउँपालिकामा बसोबास गर्ने ८० वर्षदेखि माथि उमेर समूहका ज्येष्ठनागरिक, क र ख वर्गका अपाङ्गता भएका व्यक्ति, प्रसूति सेवाका लागि गर्भवती तथा सुत्केरी महिला, सडक दुर्घटनाका घाइते, सडक सहयोगापेक्षी मानवलाई सहज हुने भएको छ । 

निःशुल्क एम्बुलेन्सले गाउँपालिकाभित्र मात्र सेवा दिने राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिनुभयो । शाखा प्रमुख राउतले भन्नुभयो, ‘राप्ती गाउँपालिकाभित्रका बिरामीलाई पालिकाभित्र रहेका अस्पतालसम्म ल्याउन र लैजान एम्वुलेन्समा पैसा लाग्ने छैन । तर बिरामी अन्यत्र लगेर जानुपरेमा अर्को एम्बुलेन्स प्रयोग गर्नुपर्नेछ ।’ 

राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राउतका अनुसार सिसहनिया स्वास्थ्य चौकीमा रहेको पुरानो एम्बुलेन्सलाई मर्मत गरेर गाउँपालिकामा निःशुल्क एम्वुलेन्स सेवा दिन थालेको हो । उहाँले भन्नुभयो, ‘स्वास्थ्य चौकीका लागि केही महिनापछि नयाँ एम्बुलेन्सको व्यवस्था गर्दैछ, त्यो भएपछि विरामीलाई थप सहज हुनेछ ।’ 

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टका अनुसार यो एम्बुलेन्सले ८० वर्षदेखि माथि उमेर समूहका ज्येष्ठनागरिक, क र ख वर्गका अपाङ्गता भएका व्यक्ति, प्रसूति सेवाका लागि गर्भवती तथा सुत्केरी महिला, सडक दुर्घटनाका घाइते, सडक सहयोगापेक्षी मानवलाई उपचारका लागि पालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थासम्म निःशुल्क रुपमा पुगाउने छ ।