• २० असोज २०८१, आइतबार

पोखरामा २३ वर्षपछि बाघ जात्रा

blog

बाघ जात्राबारे जानकारी दिंदै आयोजकहरु । तस्बिर : फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, भदौ १४ गते । बिहीबार गाईजात्रा मनाएको नेवारी समुदायले सोमबार अर्को विशेष उत्सव बनाउँदै छन् । पोखरामा २३ वर्षपछि १८ गते सोमबारदेखि २० गते बुधबारसम्म बाघ जात्रा देखाइँदै छ । 

यस पटकको बाघ जात्रा धेरैले अवलोकन गर्ने आयोजकको अनुमान छ । यसपालि बाघ जात्रा आयोजना गर्न पोखरा महानगरपालिका, वडा कार्यालय, नेवा छें लगायतले साथ दिएका छन् । जात्रालाई महानगर र नेवा: खल कास्कीको संरक्षकत्वमा हुनेभएको छ ।   

बाघ जात्रा आयोजक समिति २०८० का संयोजक जवाहरलाल श्रेष्ठले पोखरा महानगरपालिकासहित आसपास अरू पालिकाका प्रमुख, प्रदेश सरकार, सभासद्सहित बाहिरी जिल्लाबाट पनि अतिथि, दर्शक र मेलामा सहभागिता रहने जानकारी दिनुभयो । 

कलाकारहरू अहिले जात्राको तयारीको अन्तिम चरणमा रहेको संयोजक श्रेष्ठले जानकारी दिनुभयो । जात्रामा भूमिका निर्वाह गर्ने कलाकारलाई यसले पहिचानसमेत दिनेगरेको थियो । 

यसपालिको जात्रामा राजाको रूपमा कलाकार जीतेशमान गुमाजू र रानीको रूपमा कलाकार शिवानी श्रेष्ठ गुभाजू हुनुहुन्छ । बाघको भूमिका सुरेश खड्गीले निर्वाह गर्नुहुने भएको छ । हरेक दिनको जात्रा नेवा छेंबाट सुरु हुनेछ । जात्रा संयोजक जवाहरलालले पहिलो दिन गणेश टोल, मोहरिया टोल हुँदै बगरक्षेत्र, दोस्रो दिन पृथ्वीचोक र तेस्रो दिन पोखरा रङ्गशालामा जात्रा देखाइने जानकारी दिनुभयो ।

लेखक रवीन्द्र माकाजू यो जात्रा पोखराकै प्रतिष्ठाको विषय भएको बताउँदै जीवनमा एक पटक हेर्नैपर्छ भन्नेहरू धेरै रहेको सुनाउनुभयो । यसपालिको बाघ जात्रामा सहभागी हुन भक्तपुर नगरपालिकाले ५० जनाको ‘घिन्ताघिसी’ जात्रा टोली पोखरा पठाउँदै छ । बागलुङबा हनुमान नाच देखाउने टोली पनि आउँदै छ ।

जात्राको सुरुआत मानिस र बाघको द्वन्द्वसँग जोडिएको छ । गाउँमा बाघले धेरै दुःख दिएपछि राजालाई यसबारे जानकारी दिइएको र राजाले सेनासहित आएर बाघ मारेको भनाइ छ । बाघको हैरानी र डरबाट मुक्ति भएको दिनको सम्झनामा जात्रा बनाइएको संयोजक जवाहरलालको भनाइ छ ।