• १९ वैशाख २०८१, बुधबार

पठनीय एवं सङ्ग्रहणीय कृति

blog

हरिराज भट्टराईद्वारा लिखित ‘गीत, कुत्ता र कोर्ट’ कथा सङ्ग्रहमा बत्तिस वटा कथाहरू छन् । कथाकार भट्टराईको लेखनकला अत्यन्तै आकर्षक, उत्कृष्ठ छ । सङ्ग्रहको नामकरण रहेको सातौँ कथामा आँखा पुगे । कुत्ता, झोले, लडाका, हल्कारा आदि यस कथामा प्रयोग भएका प्रतीक हुन्– जसले नेपाललाई अनेक तरहले दुःखका गर्तमा होमिरहेका छन् । धर्म, संस्कृति, जाति, समाजलगायत हरेक क्षेत्रमा विध्वंश गरिरहेका छन् । कतिसम्म भने गाईलाई राष्ट्रिय जनावर मान्न नहुने कुरा डलर खाएर अफ्रिकाको कथामा पाइन्छ । देश र जनतालाई लुटेको सहन र हेर्न नसक्दा लोक गायकले गाएको गीतप्रति यिनीहरूले गरेको अभद्र व्यवहारको पनि प्रसङ्ग कथाकारले उठाएका छन् । 

‘मेरो शरीर मेरो अधिकार’ भन्ने नारामा टेकेर महिलाहरूले आवश्यकताभन्दा बढी स्वतन्त्रता खोज्दा जन्मिएको कहालीलाग्दा घटनाबाट आफैँ पीडित बनेका दुर्गतिपूर्ण क्षणको चित्रण गरेर लेखिएका कथाहरू हुन्– अधिकारका रक्षा, आफ्नी छोरी आफ्नी बुहारी, भर्खरै पढे, मसी सुकेछ आदि । हरेक कथामा कथाकारले अदालत, पत्रिका–सम्पादकीय सहायताबाट नेपालको राजनीतिक र राजनीतिज्ञका स्वार्थले जन्मिएको पीडा, जातीयबाट उठेका विकृति, नेपालको शैक्षिक विकृति, धर्मका नामबाट उठेको विकृति आदिका बारेमा कथाकारले जस्ताको तस्तै उतारेका छन् । धर्म निरपेक्षताबाट लोभिएका सामाजिक चित्रण र धर्म परिवर्तनले पु-याएको असर वा क्षति ‘सिन्दुर पुछाउने’ र ‘यु टर्न च्याङ्से’ आदि कथा हेरे पुग्छ ।

पुस्तौँदेखि मिलेर बसेको नेपाली समाजलाई जातीयताको नारा दिएर विथोलेको विकृत परिणामको वास्तविक चित्रण भएका कथाहरूको प्रतिनिधि कथा हो ‘तामाको फूल’ । नागरिकता किनबेच, देश स्वार्थमा चलाइएको, विचौलिया, झोले, माफियाहरूको दबदबा रहेको कुरा सबै कथामा पाइन्छन् । पुरुष प्रधान स्रोत हाबी हुँदाको अवस्था, महिलाहरूले स्वतन्त्रताका नाममा देखाएको विकृत रूप र छोराछोरीहरूमा विभिन्न कारणहरूले सिकाइएको विकृत रूप प्रायः कथाहरूमा उतारिएको छ र यसले नेपालीहरूको परिवार विथोलिएको छ । भड्किँदो फेसनले महिलाहरू असुरक्षित भएको कुरा पनि कथाकारले औँल्याएका छन् । समाजमा अशान्ति मच्चाई हिंसा, हत्या, लुटपाट गर्ने उच्च ओहदामा बसेका कथित नेता भनौदाहरूका सज्जन बुहारीहरूको पश्चाताप, वेदनाले भरिएको जिउँदो जाग्दो कथा हो– ‘अर्को जन्म’ ।

यस कथाका पात्रहरू को हुन् भनेर सोध्नभन्दा पनि नेपाली जनताका पुस्तौँ पुस्ता चिन्ने छन् र घृणा गर्ने छन् । यस कथाका नारीपात्र (बुहारीहरू) ले स्वाभिमानी नेपाली महिलाहरूको प्रतिनिधित्व गरेकाले हिलामा फुलेका कमलका फूल झैँ मान्नुपर्ने हुन्छ– यिनीहरूलाई । यिनीहरू कहालीलाग्दो जीवनबाट मुक्त हुन चाहन्छन् । आफ्नै भाषा कमजोर बनाउँदा शाब्दिक अर्थ नबुझेर नारी अस्तित्वमा समाप्त पारिएको कथा ‘बर्जित भाषा र करणी मुद्दा’ मा देखिएको समस्यामा कमजोरी कसको हो ? भाषाको वा जवानीको ? जटिल प्रश्न कथाले उठाएको छ । सरकारले अनावश्यक कर लगाएकोले ‘आफ्नै छायामा पनि कर लगाउने’ हो कि भन्ने डर पनि यहाँ उठेको छ । बलात्कारीलाई ‘खुल्ला दण्ड’ कथामा पाटे लुगा लगाएर विशेष परिचय दिएको युवकको जस्तो दण्ड संविधान नेपालमा किन लागु नगर्ने भन्ने प्रश्न सबै पाठकहरूका मनमा नपर्ला भन्न सकिन्न । ‘पत्रकार र ट्राफिक प्रहरी’ कथा पढेपछि ‘चार वर्ण छत्तिस जात’ का नेपालीहरूको हालत र मन कस्तो होला ? जातीयताले उठाएको परिणाम हो यो ।

वर्तमान नेपालको संविधान, कानुन नीति–नियम र भोगाइको वास्तविक दर्पण हो– प्रस्तुत कृति । भाषा, विचार, उद्देश्य र उपयोगिताको आधारमा व्याख्या एवं मूल्याङ्कन गर्दा प्रस्तुत कृति सबैले पढ्नै पर्ने खालको पठनीय र सङ्ग्रहणीय छ ।

लेखक : हरिराज भट्टराई

कृति : गीत, कुत्ता र कोर्ट  (कथासङ्ग्रह)

प्रकाशक : असीम सौरभ प्रकाशन माला–६

पृष्ठ : १६०

मूल्य: रु. २०० ।–

Author

विमला न्यौपाने