काठमाडौं, भदौ ८ गते। राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले संसदको विषयत समितिको सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको छ। रास्वपा नेता सन्तोष परियारले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै शुक्रबार अपरान्ह ५ बजेदेखि बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “गएको साउन १५ गते संसदीय दलको बैठक बसेका थियौं। आज ५ बजे बसेको बैठक भर्खर सकिएको छ। भदौ ११ गते हुने संसदका विषयगत सभापतिको निर्वाचनमा जहाँ आफ्नो क्षमताले भ्याउँछ त्यहाँ उम्मेदवारी दिने र अन्य समितिमा आन्तरिक गृहकार्य गर्ने निर्णय भएको छ।”
उहाँले अवरुद्व संसद सुचारु गर्न रास्वपाले निर्णयक भूमिका खेलेको बताउनुभयो। उहाँले भन्नुभयो, “अवरुद्व संसद खुलाउने विषयमा रास्वपाले निर्णय भूमिका खेलेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी भएकोले संसदमा प्रभावशाली गतिविधि खेल्नेछौं।”
उहाँले बैठकमा दलका उपनेता विराजभट्ट श्रेष्ठले डेंगु रोग सम्बन्धमा प्रस्तुत गरेको सङ्कल्प प्रस्ताव संसदको प्रक्रियामा लाने विषयमा छलफल भएको जानकारी दिनुभयो।
सरकारले निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत विनियोजन विधेयकमा छुट्याइएको बजेट सम्बन्धमा पनि रास्वपाले संकल्प प्रस्ताव प्रस्तुत गरेको थियो। उहाँले यो प्रस्तावमाथि सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशको स्वागत गर्ने निर्णय गरेको बताउनुभयो।