शान्ता अधिकारी
चितवन, भदौ ८ गते । नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर –२९ पन्ध्र किलो भन्ने स्थानमा शुक्रबार अपरान्ह भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले दिनुभएको जानकारीअनुसार मुग्लिनतर्फबाट भरतपुरतर्फ आउँदैगरेको ग १६ प ६९६८ मोटरसाइकलले बा–प्र–०१–००४ क ०५७३ नम्बरकोे दुध बोक्ने ट्याङ्करलाई ओभरटेक गर्नेक्रममा सोही ट्याङ्करमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको हो ।
अपरान्ह २ बजेको समयमा भएको सो दुर्घटनामा घाइते भएका पर्वत दुर्लाङ –१ का वर्ष ५८ का हर्कबहादुर सुनारको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा दिउँसो २ः२७ बजे मृत्यु भएको हो ।
मोटरसाइकलमा सवार नुवाकोट शिवपुरी गाउँपालिपका –६ का वर्ष २९ को सुबास तामाङको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्याङकर चालक दिपक लाखेमरु प्रहरीको नियन्त्रणमा छन् ।