कपिल ज्ञवाली
सिद्धार्थनगर, भदौ ८ गते । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले लुम्बिनी बनाउने सामूहिक सङ्कल्प आवश्यक रहेको बताउनुभएको छ । बिहीबार कार्यालयका कर्मचारीसँग भेटघाट गर्ने कार्यक्रममा उहाँले बुद्धको जन्मस्थल लुम्बिनी निर्माण गर्ने सङ्कल्पका साथ काममा खटिन कर्मचारीलाई निर्देशन दिनुभयो ।
उपाध्यक्ष लामाले विश्वका दुई अर्ब बौद्धमार्गीको आस्थाको केन्द्र लुम्बिनी भएकाले यो पवित्रस्थलको प्रचार प्रसारसँगै कार्यालयको कार्यसम्पादन पनि चुस्त राख्नुपर्नेमा जोड दिनुभयो ।
कर्मचारीको पेशागत सु्रक्षाका लागि आफुहरु लागिपर्ने बताउँदै संस्थाको काममा लापरवाही गरे कारवाही गर्ने बताउनुभयो । संविधानअनुसार बनेको ऐन, नियमावली, विनियम, कार्यविधि, निर्देशिका र मापदण्डअनुसार संस्थाको काम अघि बढाउने बताउँदै पदाधिकारी र कर्मचारीबीचको एकताबाट लुम्बिनीलाई अगाडि बढाउने बताउनुभयो ।
उपाध्यक्ष लामाले कोषमा यसअघि भएका गरेका कामका आधारमा बनेको दृष्टिकोण परिवर्तन गर्नेगरी काम गर्न आफू आएकाले सहयोग गर्न कर्मचारीसँग आग्रह गर्नुभयो । जिम्मेवारीअनुसार काम गर्न उहाँले कर्मचारीलाई निर्देशन दिनुभयो ।
आर्थिक पारदर्शिता कायम गर्दै बाँकी रहेको गुरुयोजनाको कामलाई अघि बढाउने उपाध्यक्ष लामाले बताउनुभयो । परिचयात्मक तथा भेटघाट कार्यक्रममा कोषका सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, सूचना तथा जनसम्पर्क अधिकृत डा. हरिध्वज राईलगायतले धारणा राख्नुभयो ।
सो अवसरमा उपाध्यक्षसमक्ष कर्मचारीले कोषको वर्तमान अवस्था र कोषका विविध विषयमा सुझाव पेश गर्नुभएको थियो । लामालाई साउन १६ गते बसेको मन्त्रिपरिषद्ले कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो । साउन २५ गते उहाँले पदभार ग्रहण गर्नुभएको थियो ।