• १८ वैशाख २०८२, बिहिबार

कोशीको स्पर मर्मतमा भारतीय पक्ष सक्रिय

blog

सुनसरीको वराहक्षेत्र नगरपालिकास्थित कोशी नदीको पूर्वी तटबन्धको स्पर मर्मत गरिँदै । तस्विर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, भदौ ८ गते । सप्तकोशी नदीको विभिन्न स्परमा सामान्य कटान भएपछि  नियन्त्रणका लागि सप्तकोशीको पूर्वी तटबन्ध तथा स्परको मर्मत कार्य सुरु गरिएको छ । 

केही दिन यता कोशीमा पानीको बहाव उतारचढाव कायम रहेकाले नदीले धेरै स्थानमा सामान्य कटान गरेकाले सम्भावित क्षति रोक्न तत्काल पूर्वी तटबन्ध सुरक्षाको काम अघि बढाएको भारतीय प्राविधिकहरुले बताएका छन् । अहिले कुनै खतरा नभए पनि मर्मत गर्ने ठाउँमा प्रोकोपाइन, तारजाली र बोरामा माटो तथा बालुवा हालेर राख्ने काम गरिएको छ । 

नेपाल–भारत दुईदेशीय उच्चपदस्थ पदाधिकारीको टोलीले विगतमा गरेको फिल्ड भिजिटको क्रममा कुनै काममा कसर बाँकी नराख्न दिएको निर्देशनअनुसार मर्मतसम्भार गर्ने, प्रोकोपाइन, तारजाली र बोरामा माटो तथा बालुवा हालेर राख्ने कार्यलाई निरन्तरता दिएको छ ।  

अहिले दैनिकजसो कोशीको वस्तुस्थिति अध्ययन गर्दै निगरानीका साथ तटबन्ध र स्पर मर्मतको कार्यलाई अघि बढाएको पदाधिकारीको भनाइ छ । कोशीको स्पर मर्मत गर्ने ठाउँमा भटिएका कामदार एमके यादवका अनुसार कटान पानी कमबेसी हुदाँ हुने भएकाले त्यसलाई ध्यानमा राखेर कतै प्रोकोपाइन त कतै तारजाली राखिएको छ । सामान्य मर्मतका लागि बोरामा माटो तथा बालुवा हालेर नियन्त्रणको काम जारी राखेको छ ।