काठमाडौं, भदौ १ गते । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्ने बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल निजामती कर्मचारी युनियन राष्ट्रिय भेला तथा विधान अधिवेशनलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले यस्तो बताउनुभएको हो । उहाँले कर्मचारी भनेको स्थायी सरकार भएकाले कर्मचारीहरुसहित सबै मिलेर अब देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले अहिले पार्टीका नाम जुनकुनै राखे पनि सबै पार्टीहरु प्रजातान्त्रिक र संविधानअनुसार चलेको जानकारी दिनुभयो ।
‘‘कर्मचारी भनेको स्थायी सरकार हो । हामी भनेको राजनीतिक भनेको आउने जाने हो, निर्वाचित सरकार र स्थायी सरकार हुन्छ, त्यसैले वास्तवमा कर्मचारी भनेको स्थायी सरकार हो । त्यो स्थायी सरकार सशक्त हुनुपर्छ । अहिले प्रजातन्त्रवादी छन् । पार्टीको नाम जे राखे पनि सबैले संविधानलाई पालना गर्नुभएको छ ।,’’
सङ्गठन, राजनीतिक, पार्टी सङ्गठनहरु चलायमान बनाउनुपर्छ । अर्को भनेको देशलाई समृद्धितर्फ, विकासतर्फ बढाउनुपर्छ । कोभिडबाट बल्ल बल्ल मुक्ति पाएको देश हो यो, फेरि डेंगु आइरहेको छ । सबै कुरालाई ध्यानमा राखेर अघि बढ्नुपर्छ ।’’
सभापति देउवाले डेंगु सङ्क्रमणलाई ध्यानमा राखेर सरकारले रोकथामका उपाय अवलम्बन गर्नुपर्ने बताउनुभयो ।