• १३ साउन २०८१, आइतबार

निर्देशिका तयार गर्न मन्त्रीको निर्देशन

blog

काठमाडौँ, साउन २८ गते  । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि तथा पशुपन्छी विकास सङ्घ, प्रदेश र स्थानीय तह समन्वय निर्देशिका सात दिनभित्र तयार गर्न निर्देशन दिनुभएको छ । 

कृषि तथा पशुपन्छीतर्फ सङ्घ, प्रदेश तथा स्थानीय तहबिच समन्वयमा समस्या देखिएपछि कृषिमन्त्रीको निर्देशनमा निर्देशिका बनाउन मन्त्रालयले सुरु गरेको थियो तर त्यो सुरु भएको लामो समय भए पनि हालसम्म तयार नहुँदा मन्त्री भुसालले सो निर्देशन दिनुभएको हो । 

कृषि मन्त्रालयमा बसेको प्रदेशका कृषिमन्त्री तथा सचिवसहितको बैठकमा उहाँले कृषिमा काम गर्नका लागि सङ्घ, प्रदेश र स्थानीय तहबिच समन्वयको अभाव देखिएका कारण चाँडै नै निर्देशिका बनाएर कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो । कृषिमन्त्री भुसाल २०७९ चैत १७ गते मन्त्रीमा नियुक्त भएपछि पहिलो निर्णय यो निर्देशिका बनाउने नै गर्नुभएको थियो । 

सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ मा उल्लेख भएबमोजिम कृषि तथा पशुपन्छी विकाससम्बन्धी कार्यमा सङ्घ, प्रदेश र स्‍थानीय तहबिचका अन्तरसम्बन्ध व्यवस्थित गर्ने निर्देशिका वैशाखभित्र तयार गर्ने भनी पहिलो निर्णयमा हस्ताक्षर गर्नुभएको थियो । 

मन्त्री भुसालले एक महिनामै तयारी गरेर कार्यान्वयनमा ल्याउन त्यति बेला नै मन्त्रालय मातहतका अधिकारीलाई निर्देशन दिनुभएको थियो । निर्णय भएको पाँच महिनाभन्दा बढी भइसक्यो तर हालसम्म कार्यान्वयनमा नआएपछि उहाँले पुनः सात दिनभित्र तयार गर्न निर्देशन दिनुभएको हो । सो निर्देशिका तयार गर्ने जिम्मेवारी कृषि मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत एवं सूचना अधिकारी डा. प्रदीपचन्द्र भट्टराईलाई दिइएको छ । 

उहाँले निर्देशिकाको अन्तिम रूप दिने तयारी भइरहेको र भदौको पहिलो वा दोस्रो हप्तातिर मन्त्रीपरिषद्मा पठाइने बताउनुभयो । 

निर्देशिकाका लागि प्रदेशहरूबाट सुझाव माग्ने कार्य भएको र सो अनुसार प्रदेशबाट सुझाव आउने क्रम सुरु भएको छ, त्यसमध्ये आवश्यक सुझाव समावेश गरी अन्तिम रूप लिएर मन्त्रीपरिषद् पठाइने उहाँले बताउनुभयो । 

कृषिका कतिपय कार्यक्रम जुधिरहेका छन्, सङ्घले के गर्ने, प्रदेशले के गर्ने, स्थानीय तहले के गर्ने स्पष्ट नीति नभएका कारण थुप्रै समस्या भइरहेको बताउँदै उहाँले त्यसैका लागि निर्देशिका तयार भइरहेको बताउनुभयो । निर्देशिका तयार भएपछि सो अनुसार हरेक कार्यक्रमका सम्बन्धमा तीन वटै तहमा समन्वय हुने उहाँले बताउनुभयो ।